एसीसी महिला एसिया कप : भारतको विजयी सुरुवात, पाकिस्तान ७ विकेटले पराजित

श्रावण ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसीसी महिला एसिया कप : भारतको विजयी सुरुवात, पाकिस्तान ७ विकेटले पराजित

काठमाडौं । एसीसी महिला एसिया कप-२०२४ मा भारतले विजयी सुरुवात गरेको छ । भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।

डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । पाकिस्तानकी ओपनर गुल फिरोजाले ५ रन मात्र बनाउन सकिन् । मुनिबा अली ११ रन बनाएर आउट भइन् । सिद्रा अमिनले सर्वाधिक २५ रनको इनिङ खेलिन् । भारतका लागि दीप्ती शर्माले ३ लिइन् ।

जवाफमा भारतले १४ ओभर १ बलमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । भारतको जितमा ओपनिङ जोडीले महत्वपूर्ण भूमिका खेलेको थियो । स्मृति मन्धाना र शेफाली वर्माले पहिलो विकेटका लागि ८५ रनको साझेदारी गरे । उपकप्तान मन्धाना ३१ बलमा ४५ रन बनाएर आउट भइन् । यस क्रममा उनले नौ चौका प्रहार गरिन् ।

शेफाली वर्मा २९ बलमा ४० रन बनाएर प्याभिलियन फर्किइन् । उनले ६ चौका र एक छक्का प्रहार गरिन् । दयालन हेमलथाले १४ रनको योगदान दिइन् । पाकिस्तानका लागि सइदा अरुब शाहले दुई र नाशरा सन्धुले एक विकेट लिइन् ।

यो जितसँगै भारत समूह 'ए' को अंक तालिकामा दुई अंकसहित पहिलो स्थानमा पुगेको छ । हिजै सम्पन्न खेलमा यूएईलाई पराजित गरेको नेपाल समान अंकका साथ दोस्रो स्थानमा छ । आज हुने समूह बीका खेलमा मलेसिया र थाइल्यान्ड तथा आयोजक श्रीलंका र बंगलादेश प्रतिस्पर्धा गर्ने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.