तपाईं महिला फुटबल प्रतियोगिता कत्तिको हेर्नुहुन्छ ? हेर्नुहुन्छ भने पक्कै अहिलेको अवस्था थाहा होला । हेर्नु भएको छैन भने पनि म तपाईंलाई आज सुनाउने छु– उमेर समूहका प्रतियोगिता र घरेलु लिग नहुँदाको अवस्था अनि बललिँदो परिस्थिति ।
कुरा गरौं– वाफ च्याम्पियनसिपको । दुई हप्ताअघि मात्र अनिता बस्नेतले कुवेतविरुद्ध गरेको ओलम्पिकको गोलले सामाजिक सञ्जालमा थुप्रै चर्चा बटुल्यो । त्यही प्रतियोगितामा सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता रहिन् । फाइनलमा बलियो टोली जोर्डनसँग २–२ को बराबरी खेल्दा नेपाली खेलाडीको प्रदर्शन निकै प्रशंसनीय रह्यो । तर नेपाल पेनाल्टीमा पराजित भयो । यसैगरी, नेपाली सिनियर टिमले दुई वर्षअघि मात्र घरेलु मैदानमा बलियो टोली भारतलाई हराएको थियो । अन्तर्राष्ट्रिय प्रतियोगिताको यस्तै प्रदर्शनले नेपालका सात खेलाडी अहिले विदेशमा लिग खेलिरहेका छन् । सावित्रा भण्डारी त फ्रान्सको शीर्ष डिभिजनको फुटबल खेलिरहेकी छन् ।
यी कुराले सबैलाई खुसी बनाउँछ । तर पछिल्लो कथाले तपाईंलाई झस्काउने छ । उमेर समूहको टोलीलाई भविष्यको राष्ट्रिय टोलीका रुपमा हेरिन्छ । उमेर समूहबाटै पर्याप्त एक्सपोजर र प्रशिक्षण पाएको बंगलादेशी महिला फुटबल टिमले सबै क्याटेगोरीको साफ जितिसकेको छ । तर नेपालको कथा ठीक उल्टो छ । दुई वर्षअघि अन्डर एट्टिन साफ खेल्न उमेर समूहको नेपाली महिला टिम भारत गएको थियो । पहिलो खेलमा नै नेपाल भारतसँग सात–शून्यले पराजित भयो । नेपालले खेलेका चार वटै खेलमा पराजय भोग्यो । गत महिना मात्र बंगलादेशमा भएको अन्डर नाइन्टिन महिला साफमा पनि नेपाललाई भारत र बंगलादेशले सहजै हराए । भारतसँग चार गोलको सामना गर्दा नेपालले एक गोल पनि फर्काउन सकेन । भुटानविरुद्ध डेडलक तोड्नसमेत नेपाललाई हम्मे–हम्मे भयो ।
आइतबार मात्र घरेलु मैदानमा साफको अर्को प्रतियोगिता – अन्डर सिक्सटिन महिला साफ च्याम्पियनसिप सम्पन्न भएको छ । यो प्रतियोगितामा नेपालको लक्ष्य थियो– उपाधिको रक्षा गर्नु । तर नेपाल लक्ष्यभन्दा धेरै पर रह्यो । भारतसँग लिग चरणमा नै १० गोल ब्यहोरेको नेपालले बिर्सनलायक प्रदर्शन गर्दै प्रतियोगिता अन्त्य गर्यो । महिला फुटबलकै भविष्यका रुपमा हेरिएको टोलीको यस्तो प्रदर्शनमा प्रतियोगिताको कमी, खेलाडी छनोटमा त्रुटी, कोटा प्रणालीमा प्रशिक्षक छनोट र तयारीको अभाव प्रष्टै देखिएका छन् ।
महिला फुटबलको आवाज उठाउन महिला फुटबल संघ गठन गरिएको छ । यसको उद्देश्य हो– महिला खेलाडीको प्रवद्र्धन गर्नु । तर घरेलु मैदानमा नै भएको महिलाको प्रतियोगितामा संघकै सदस्य खेलाडीलाई प्रेरणा दिन मैदानमा आउँदैनन् । विदेशमा प्रतियोगिता हुँदा नेपाली टिमलाई हौसला दिन ताँती लागेर जाने पदाधिकारी र संघका सदस्य आफ्नै देशमा प्रतियोगिता हुँदा चाहिँ खेलाडीलाई हौसला दिन किन जाँदैनन् ?
प्रतियोगितामा पराजित भएपछि थुप्रै टिप्पणी त आउँछन् नै । लगातार फराकिलो अन्तरले पराजित भइरहनुले साँच्चै नै उमेर समूहको फुटबल खस्किएको संकेत नै गरिरहेको छ । पाँच वर्षभन्दा धेरै भइसक्यो उमेर समूहको प्रतियोगिता नै नभएको । तपाईंलाई याद होला कोकाकोला कप, स्कुल लिग र क्विक्स कपको नाममा पहिले–पहिले युवा खेलाडीका लागि प्रतियोगिता आयोजना हुन्थे ।
तर अहिले यस्ता प्रतियोगिता हुनै छाडेका छन् । फुटबलको धरातल नै ग्रासरुटबाट सुरू हुन्छ । तर यस्तो प्रतियोगिता नपाउँदा खेलाडीले एक्सपोजर नै पाउँदैनन् । त्यसैले त एउटा पनि घरेलु प्रतियोगिता नखेलेका खेलाडी सिधै राष्ट्रिय टिमसम्म पुगेको कारण प्रदर्शन कमजोर हुने गरेको छ । साफमा नै नेपाल र भारतको खेल त याद गर्नु भएकै होला, खेलको २५ मिनेटसम्म पनि नेपालले अट्याक नै बनाउन सकेको थिएन । खेलाडीले थ्रो गर्दा पनि पटक पटक गल्ती गरिरहे । आखिर दोष चाहिँ कसको त ?
यस्तै समस्या सामधान गर्न भर्खरै मात्र एन्फाले विभिन्न पाँच ठाउँमा एन्फा एकेडेमी सुरु गर्ने योजना अघि सारेको बताएको छ । एन्फा एकेडेमीकै उत्पादन अहिले पुरुषको राष्ट्रिय टिममा छन् । तर एन्फाले एकेडेमी सञ्चालन गरेर कति खेलाडीलाई प्रशिक्षण गराउन सक्ला ? त्यसैले क्लबलाई व्यवसायिक बनाउनुपर्छ भनेर सहिद स्मारक ए डिभिजन लिगका १४ क्लबले एकेडेमी बनाउनै पर्ने भन्ने नीति एन्फाले लियो । त्यसपछि १४ क्लबले एकेडेमीको रुपमा काम पनि सुरु गरिसकेका छन् । पुरुष खेलाडीलाई मात्र अवसर दिएको त्यो मोडेलमा काम सुरु भए पनि अघि बढ्न सकेन । तर त्यो योजनाबाट कति खेलाडी अलपत्र परेका छन् । अहिले फेरि एन्फाले एकेडेमी आफैं सञ्चालन गर्ने भनेको छ । अब हुने चुनावपछि आउने कार्यसमितिले कस्तो योजना ल्याउने हो थाहा पत्तो छैन । ग्रासरुटको यस्तो अस्थिरतामा विश्वास गर्ने ठाउँ कति होला ?
सन् २०२७ वा २०३१ मा महिला फिफा विश्वकप खेल्ने योजना एन्फाको छ, तर यसको लागि पत्याउन सकिने एउटा पनि आधार तयार छैनन् । एकेडेमी बनाउने भने पनि महिला लिग हुने वा नहुने अझैसम्म खेलाडी विश्वस्त भएका छैनन् । महिला लिगका लागि पनि नयाँ मोडेल प्रस्ताव गरिएको छ । महिनै पिच्छे साधारण सभा र हप्ता दिन लामो बैठक गर्ने एन्फाको पछिल्लो कार्यशैली त देखिएकै छ । तर लिग नै भएपछि खेलाडीलाई कस्तो असर परिरहेको छ, त्यो कसले देखेको होला ? हुन्छ, हुन्छ भन्दा भन्दै पछिल्लो संस्करणको आधा लिग नै भएन । फेरी त्यस्तै त हुँदैन ? हरेक काम गर्दा कन्ट्रोल फन्डिङ भन्ने एन्फाको ओठे जवाफले निर्धारित प्रतियोगिता कुन दिन रोकिन्छ भन्ने आशंका मनमा लिएर खेलाडी मैदान ओर्लिनुपर्ने बाध्यता छ ।
पुरुषको भन्दा धेरै सम्भावना भएको महिला फुटबल सँधै उपेक्षामा परिरहेको छ । यसले महिला खेलाडीको पलायनको अवस्था त निम्त्याउने होइन ? कामना गरौँ यस्तो नहोस् । सन् २०१८ अघिसम्म नेपालविरुद्ध एक गोल पनि गर्न नसकेको बंगलादेश नेपाललाई नै हराएर साफ च्याम्पियन बनिसकेको छ । नयाँ केही गर्नै सकिँदैन भने त्यही मित्रराष्ट्रले गरेको महिला फुटबलमा गरेको कामलाई अनुशरण त गर्न सकिएला नि । होइन र ?