प्रशिक्षक कटुवाल भन्छन्- ब्याटिङमा सुधारको खाँचो छ

महिला टी-ट्वेन्टी आई सिरिजमा तेस्रो भएको नेपाली टोली स्वदेश फर्कियो
मंसिर ४, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रशिक्षक कटुवाल भन्छन्- ब्याटिङमा सुधारको खाँचो छ

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका प्रशिक्षक मनोज कटुवालले, ब्याटिङमा आत्मविश्वास नहुँदा सिरिज अपेक्षाकृत नतिजा ल्याउन नसकेको बताएका छन् ।

हङकङमा भएको चार देश सम्मिलित टी-ट्वेन्टी सिरिजमा सहभागी भएर आज स्वदेश फर्किएपछि प्रशिक्षक कटवालले ब्याटिङमा व्यापक सुधारको खाँचो औंल्याएका हुन् । नेपाल, हङकङ, तान्जानिया र जापान सहभागी भएको सिरिजमा नेपाल तेस्रो भएको थियो ।

नेपालले दुईपटक जापानलाई हराए पनि घरेलु टोली र तान्जानियासँग कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । प्रशिक्षक कटुवालले अनुभवी ब्याटर सीता राना मगर चोटग्रस्त हुँदा पूरै प्रतियोगिता प्रभावित भएको उल्लेख गरे । कप्तान इन्दु बर्माले टिममा युवा खेलाडी भएकाले नतिजा आफ्नो पक्षमा आउन नसकेको बताइन् ।

इन्दुको कप्तानका रुपमा यो पहिलो प्रतियोगिता हो । इन्दुले यसै सिरिजमार्फत रुबिना क्षेत्रीलाई प्रतिस्थापन गरेकी थिइन् । नेपाल एक साताको मात्र तयारी गरेर सिरिज खेल्न गएको थियो ।

नेपालले तान्जानियासँग २७ रन र हङकङसँग नौ विकेटको हार बेहोरेको थियो । जापानलाई लिग चरणमा ६७ रनले पराजित गरेको नेपालले तेस्रो स्थानका लागि भएको खेलमा ४५ रनको जित हात पारेको थियो । नेपाली टिमले साढे दुई महिनाअघि मलेसियामा विश्वकप छनोट खेलेको थियो। छनोटमा थाइल्यान्डसँग मात्र हार बेहोरेको नेपालले यो सिरिजमा भने निकै खराब प्रदर्शन गर्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.