भावुक हुँदै ज्ञानेन्द्रले भने- यो मेरो समय हो

श्रावण १९, २०८० |कान्तिपुर टीभी संवाददाता
भावुक हुँदै ज्ञानेन्द्रले भने- यो मेरो समय हो

काठमाडौं । जीवनमा मृत्यु, खेलमा संन्यास अनिवार्य हो । तर शिशुले रुँदै जीवनको सुरुवात गर्छ भने अक्सर खेलाडीले करिअरलाई विश्राम दिँदा रुने गर्छन् । रहरलाई कर्म बनाएर उर्वर जीवन व्यतीत गरी मैदानबाट बिदा हुनु एक खेलाडीका लागि पक्कै सजिलो क्षण होइन । संन्यास कठिन निर्णय हो ।

नेपाली टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले बुधबार अकस्मात् पत्रकार सम्मेलन गरी संन्यासको घोषणा गरे । उनले भने, ‘राष्ट्रिय टिममा जोडिएको पनि झन्डै दुई दशक भएछ । उपकप्तान र कप्तान बनेर देशको झन्डा काँधमा राखेर नेपालको प्रतिनिधित्व गर्न पाएँ । यो अवसरका लागि म कृतज्ञ छु ।’

संन्यासका लागि यसभन्दा उपयुक्त समय अरु नहुने भएकाले आजै यो निर्णय गरेको उनको भनाइ थियो ।

उनले अगाडि थपे, ‘क्रिकेटमा पनि मैले कसैलाई रिप्लेस गरेको थिएँ होला । यो मेरो समय हो । त्यसैले मैले आज अन्तर्राष्ट्रिय क्रिकेटको यात्रामा पूर्णविराम लगाउने र फरक यात्रा प्रारम्भ गर्ने निर्णय गरेको छु ।’

सधैं हसिलो र टिम दबाबमा रहेका बेला पनि अनुहारमा मुस्कन राखी आफ्नो खेल कौशल देखाउने उनी यस निर्णयको घोषणा गर्दा मलिनो अनुहारमा प्रस्तुत भए । उनले खेल जीवनमा जोडिएका सबैलाई स्मारण गरे र कृतज्ञ व्यक्त गरे । जीवनसंगिनी र छोरीको स्मरण गर्दा उनले मन थाम्न सकेनन्, उनका आँखा रसाए । एक छिन बोल्नै सकेनन् ।

त्यहीबाट प्रस्ट देखिन्थ्यो- विद्रोह र लक्ष्यमा दृढ रहेर नेपाली क्रिकेटको कठोर यात्रालाई निश्चित विन्दुमा पुर्याएका एक सफल योद्धाको क्रिकेट प्रेम ।

एकछिनपछि समाह्लिएर उनले आफ्नो क्रिकेटलाई आकार दिन भूमिका खेल्ने प्रशिक्षक, क्यान र समर्थकप्रति आभार प्रकट गरे । उनले थपे, ‘मैले ब्याट उचाल्दै गर्दा हौसलाले प्राण भरिदिनुहुने अनि जितमा खुसी र हारमा अर्कोपटक जितका लागि उत्प्रेरणा दिने दर्शकको समर्थन मेरो जीवनभरको जिउने आधार भइरहनेछ ।’

संन्यासलाई उनले जीवनको नयाँ अध्यायको सुरुवात भएको अर्थ्याएका छन् । आफू क्रिकेटको कट्टर समर्थक भइरहने बताउँदै उनले भने, ‘इमानदारीसाथ भन्नुपर्दा यतिबेला मेरो मनमुटु भारी भइरहेको छ । जुन खेलले इमान प्रतिष्ठा दियो सोही खेलबाट बिदा लिन पक्कै सजिलो छैन । तर यो बिदाइ होइन मेरो यात्राको नयाँ अध्याय हो ।’

उनले आफूलाई क्रिकेटमा प्रेरित गर्ने जन्मथलो भीमसेनथानका अग्रज, पूर्वकप्तान पारस खड्काप्रतिसमेत कृतज्ञ व्यक्त गरे । संयोग दुई वर्षअघि पारसले पनि आजकै दिन संन्यास घोषणा गरेका थिए । मैदानमा पारस र मल्ल एक ‘पर्फेक्ट’ जोडीका रुपमा लोकप्रिय थियो ।

उनले बाल्यकाल स्मरण गर्दै भने, ‘प्लाइउड लिस्टीको ब्याट बनाएर, पत्रिका भिजाएर रबर बेरेर बनाएको बल खेल्दा खेल्दै राष्ट्रिय टिममा जोडिएको दुई दशक भइसकेछ ।’

यसरी बल-ब्याटको जोहो गर्दै क्रिकेट खेल्ने क्रममा उनले विश्वकप मैदानमा देशको प्रतिनिधित्व गर्दै ब्याट उचाले । नेपालले एकदिवसीय मान्यता पाउँदा उनको ठूलो योगदान छ । राजनीतिले देश गिजोलीरहेको कठिन समयमा विद्रोही योद्धाका रुपमा टिममा सामेल भई नेपाली क्रिकेटलाई उचाइमा लैजान ज्ञानेन्द्रको ठूलो योगदान छ । उनी टिम दबाबमा रहेको अवस्थामा रन बनाउनसक्ने खेलाडीका रुपमा परिचित थिए ।

‘यो पवित्र खेल मेरो क्रिकेट मेरो अस्तित्वको सार हो । स्थानीय र अन्तर्राष्ट्रिय स्तरसम्मको खेल खेल्ने क्रममा दृढ संकल्प र एकताबारे अमूल्य पाठ सिकायो । मैदानको हरेका पाइलामा देशको प्रतिनिधित्व गर्दा गर्व महसुस गरेको छु,’ उनले संन्यासको घोषणा गर्दै अन्तिममा भने । 

सन् २००६ को एसीसी ट्रफी एलिटमा नामिबियाविरुद्ध डेब्यु गर्दै राष्ट्रिय क्रिकेट टिमको यात्रा सुरु गरेका ज्ञानेन्द्रले करिब १७ वर्ष नेपाली टिममा रमाए । नेपाली क्रिकेट टिमको लामो समय उपकप्तान बनेका ज्ञानेन्द्र २०७६ कात्तिक १३ गते कप्तानमा नियुक्त भएका थिए ।

आईसीसीको निलम्बनबाट नेपाल क्रिकेट संघ फुकुवा भएपछि तत्कालीन कप्तान पारस खड्काले राजीनामा दिएको कारण ज्ञानेन्द्रले कप्तानको जिम्मेवारी पाएका थिए । उनले करिब करिब १३ महिना राष्ट्रिय टिमको नेतृत्व पनि गरे ।

ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय क्रिकेट करियरमा एकमात्र शतक प्रहार गरे । त्यो शतक नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा थियो । त्यसबाहेक उनले संन्यास लिनु अघिसम्म ३७ एकदिवसीयमा ८७६ रन बनाएका थिए ।

एकदिवसीयमा उनले सात अर्धशतकसमेत प्रहार गरे । त्यसैगरी ४५ टी-ट्वान्टी आई खेलेका ज्ञानेन्द्रले ८८३ रन प्रहार गरेका थिए । टी-ट्वान्टी आईमा उनले एक शतक र दुई अर्धशतक बनाएका थिए ।

नेदरल्यान्ड्सविरुद्ध पहिलो एकदिसीय क्रिकेट खेल्दा नेपालका ११ जना नै खेलाडीले डेब्यु गरेका थिए । त्यही टिममा थिए ज्ञानेन्द्र । एकदिवसीय क्रिकेटको सुरुवाती दिनदेखि आईसीसी विश्वकप लिग २ मा नेपाललाई तेस्रो स्थान दिलाउँदासम्म मैदानका साक्षी उनी पनि हुन् । दबाबमा रहेका अवस्थामा रन बनाउन सक्ने खेलाडीको रुपमा पनि ज्ञानेन्द्रलाई चिनिन्छ । सन् २००५ मा अन्डर फिफ्टिनबाट डेब्यु गरेका ज्ञानेन्द्रले एसीसी अन्डर सेभेन्टिन्स र एसीसी अन्डर नाइन्टिन पनि खेलेका थिए ।

ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement