न्युजिल्यान्डविरुद्धको सिरिज क्लिन स्वीप गर्दै भारत ओडीआई वरीयताको शीर्ष स्थानमा

माघ ११, २०७९ |कान्तिपुर टीभी संवाददाता
न्युजिल्यान्डविरुद्धको सिरिज क्लिन स्वीप गर्दै भारत ओडीआई वरीयताको शीर्ष स्थानमा

इन्दोर । रोहित शर्मा र शुभम गिलको शतकको मद्दतमा भारतले न्युजिल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय (ओडीआई) सिरिज क्लिन स्वीप गरेको छ । यसअघिनै च्याम्पियन बनिसकेको भारतले अन्तिम खेलमा ९० रनको जित हात पारेको हो ।

इन्दोरमा पाहुना टोलीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । भारतले सानदार ब्याटिङ गर्दै ५० ओभरमा नौ विकेट गुमाएर ३ सय ८५ रनको योगफल बनाएको थियो ।

कप्तान रोहित र गिलले पहिलो विकेटका लागि दुई सय १२ रनको सानदार साझेदारी गरे । रोहितले एक सय एक रनको योगदान गरे । ८५ बल खेलेका उनले नौ चौका र ६ छक्का प्रहार गरेका थिए ।

गिलले ७८ बलमा १ सय १२ रन बनाए । विराट कोहलीले ३६ र हार्दिक पान्ड्याले ५१ रन जोडे । इशान किशन १७ र सूर्यकुमार यादव १४ रनमा मैदान बाहिरिएका थिए । सुर्दल ठाकुरले २५ रन थपे । ज्याकोब डफी र ब्लेर थिक्नरले तीन-तीन विकेट लिए ।

जवाफमा न्युजिल्यान्ड ४१ ओभर दुई बलमा २ सय ९५ रनमा अलआउट भयो । पहिलो ओभरको दोस्रो बलमै ओपनर फिन एलेन डक आउट भएका थिए । डेभोन कनवेले १ सय ३८ रन बनाउँदै इनिङ सम्हालेका थिए । हेनरी निकोलसले ४२, डरेल मिचेलले २४, मिखाएल ब्रेसवेलले २६ र मिचेल सान्टनरले ३४ रन बनाएपनि जितका लागि पर्याप्त भएन । कप्तान टम लाथमले खाता खोल्न सकेनन् । ग्लेन फिलिप्स पनि मात्र ५ रनमा पभेलियन फर्किएका थिए । सुर्दल र कुलदिप यादवले तीन-तीन तथा युजवेन्द्र चाहलले दुई विकेट लिए । यो जितपछि भारत ओडिआई वरीयताको शीर्ष स्थानमा फर्किएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.