काभ्रेमा कृष्ण जन्माष्टमीका दिन मनाइने कन्यापूजामा १२ हजार कन्या पुजिए

भाद्र १०, २०८१ |पुजन धिताल
काभ्रेमा कृष्ण जन्माष्टमीका दिन मनाइने कन्यापूजामा १२ हजार कन्या पुजिए

काभ्रे । कृष्ण जन्माष्टमीको दिन मनाइने कन्यापूजा अन्तर्गत काभ्रेका विभिन्न स्थानमा करिब १२ हजारभन्दा बढी कन्याहरुको पूजा गरिएको छ । १ सय २२ वर्ष अघिदेखि सुरु भएको कन्या पूजामा बनेपामा मात्रै ७ हजार कन्याको पूजा भयो ।

हरेक वर्ष कृष्ण जन्माष्टमीकै दिन पारेर बनेपा, पनौती, दाप्चा, नाला, साँगा, जनागाल लगायत नेवार समुदायको बाक्लो बसोबास रहेका ठाउँमा कन्यापूजाको चलन छ । आज बनेपामा मात्र ७ हजार कन्याहरू पुजिएको सनातन कन्या पूजा प्रबन्ध समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यले जानकारी दिनुभयो ।

आज नेवारी समुदायमा बेल विवाह नगरेका तथा अन्य समुदायमा रजस्वला नभएका बालिकालाई पूजा गरिन्छ । कन्या पूजा गर्दा बालिकाहरु निरोगी हुने, खुसी हुने र कन्याहरूलाई दान-दक्षिणा दिनेको पनि जीवन सफल हुने विश्वास छ ।

१९५९ साल भाद्र कृष्ण सप्तमीको दिनदेखि सुरु भएको कन्यापूजामा देव कन्या, नाग कन्या, गन्धर्व कन्या, किन्नर कन्या र किच कन्या समेत मानव कन्याका भेषमा आउने विश्वासमा आराध्य देवी चण्डेश्वरी माईकी कुमारी मानी पूजा गरेमा फलिफाप हुने जनविश्वास छ ।

कन्यापूजामा बालिकाहरुलाई मिष्ठान्न भोजनका साथै विभिन्न उपहार समेत हस्तान्तरण गरिएको थियो ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement