कर्णालीमा हिंसाका घटनामा किन आएन कमी ?

मंसिर २१, २०८१ |सरिता चलाउने
कर्णालीमा हिंसाका घटनामा किन आएन कमी ?

सल्यान । कर्णाली प्रदेशमा हुने लैङ्गिक हिंसाका घटनामध्ये अधिकांश महिला र बालबालिकामाथि हुने गरेका छन् । भौगोलिक विकटता, जनचेतना अभाव, अशिक्षा, गरिबी, मादकपदार्थजस्ता कारणले कर्णालीमा घरेलु हिंसामा कमी आउन नसकेको हो । घरेलु हिंसा न्यूनिकरण गर्न निरन्तर सचेतनाका कार्यक्रम सञ्चालन गरिए पनि घटनामा कमी आउन सकेको छैन । 

सल्यानकी ३२ वर्षीय महिला १० वर्षको छोरा र २ वर्षकी छोरीसहित मंगलबार जिल्ला प्रहरी कार्यलय परिसरमा आँखामा आँशु झारिरहेकी भेटिइन् । वर्षौ देखि घरेलु हिंसाको शिकार भइरहेकी उनी अति भएपछि प्रहरीमा पुगेकी थिइन् । २० वर्षकी हुँदा उनको मागी विवाह भयो । बिहे गरेकै दिनदेखि श्रीमानको कुटाइ र सासुससुराको वचन सहिरहनु परेको उनी बताउँछिन् । घरेलु हिंसाले उनीसँगै छोराछोरी पनि पीडित छन् ।

३४ वर्षीया अर्की पीडितको १५ वर्षमै विहे भयो । विहे गरेको एक वर्षमै छोरा जन्मियो । त्यसपछि सुरु भएको घरेलु हिंसाले उनको जिन्दगी नै तहसनहस बनायो । घरपरिवार र माइतीको इज्जतको डरले उनले कहिल्यै आफ्नो पीडा खोल्न सकिनन् । श्रीमानले दोस्रो विहे गरेपछि झन हिंसा सहनुपर्यो । अन्ततः उनी छुट्टनि बाध्य भइन् ।

कर्णाली प्रदेशमा पछिल्लो तीन वर्षमा ३ हजार ६ सय २१ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । महिला बालबालिकामाथि हुने हिंसाका घटनामा सुर्खेत र सल्यान अग्रस्थानमा छन् । जिल्ला प्रहरी कार्यलय सल्यानको तथ्याङ्कले पछिल्ला ४ वर्षमा मात्रै हिंसाका ४ सय ९० घटना दर्ता भएको देखाएको छ ।

धेरै घटनामा महिलाहरुले आफ्नै परिवारका सदस्यबाट ज्यान गुमाएका छन् भने परिवारकै सदस्यबाट बलात्कृत भएका छन् । महिला हिंसा, बालविवाह, बलात्कार, यौनहिंसा, घरेलुहिंसा, भेदभावबाट गुज्रनु परेकोजस्ता घटना छन् । यस्ता घटना रोक्न कस्ता प्रयास भएको छ त ?

लैङ्गिक हिंसाका घटना हुन नदिन तीनै तहका सरकारले ठूलो लगानी गरेका छन् । सचेतनाका कार्यक्रमहरु पनि निरन्तर छन् । तर आर्थिक परनिर्भता र सचेतना अभावले लैङ्गिक हिंसाका घटना न्यून हुन सकेका छैनन् ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement