
काठमाडौं । सानदार लयमा रहेका युवा ब्याटर अर्जुन कुमालले शतकसहित ऐतिहासिक इनिङ्स खेलेपछि पीएम कपमा गण्डकी प्रदेशले कोशीलाई ३९ रनले पराजित गरेको छ ।
जारी प्रतियोगितामा गण्डकीको यो दोस्रो जित हो भने कोशीले ६ खेल खेलिसक्दा समेत जितको खाता खोल्न सकेन । वीरगञ्जको नारायणी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको गण्डकीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो ।
गौरव विकले खाता खोल्न सकेनन् । मुस्कान थापा १० तथा सीब्रीन श्रेष्ठ र दिनेश बुढामगर १-१ रनमा बाहिरिए । दिपक डुम्रे १५ र सुबास भण्डारीले २ रनमात्र बनाउन सके । तर, एक एन्डबाट अर्जुनले एङकर होल्ड गरिरहेका थिए । उनले विपिन कार्कीसँग सातौं विकेटको रूपमा अविजित शतकीय साझेदारी गरे ।
यो जोडी मिलेर अविजित १ सय ६७ रन बनाएको थियो । जुन सातौं विकेटका लागि पीएम कपको हालसम्मकै उच्च साझेदारी हो । विपिनले ८६ बलमा ७६ रनको अर्धशतकीय योगदान गरे । अर्जुनले १ सय २ रनको शतकीय योगदान दिए । साथै यसै खेलमा उनले पीएम कपमा १ हजार र पूरा गरेका छन् ।
उनी यस प्रतियोगितामा सबैभन्दा छिटो १ हजार रन पूरा गर्ने खेलाडी समेत हुन् । अर्जुनले २५ खेलमा उपलब्धी हासिल गरेका हुन् । उनले रोहित पौडेललाई पछि पारेका हुन् । रोहितले ३८ खेलमा १ हजार रन पूरा गरेका थिए । जारी संस्करण शीर्ष रनकर्ताको सूचीमा पहिलो स्थानमा रहेका अर्जुनले ६ खेलमा २ अर्धशतक र १ शतकसहित ३ सय ४६ रन बनाएका छन् भने पीएम कपमा उनको नाममा १ हजार ३० रन छ । कोशीका लागी दीपेश कँडेलले ४ विकेट लिए ।
२ सय २८ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले ५० ओभर ब्याटिङ गरे पनि ९ विकेट गुमाएर १ सय ८८ रन मात्र बनाउन सक्यो । कोशीका लागि दीपेशले ५२ रनको अविजित अर्धशतकीय योगदान दिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । गण्डकीका लागि सिब्रिन श्रेष्ठले २ विकेट लिएका थिए ।
जितसँगै ६ खेलबाट ५ अंक बटुल्दै गण्डकी प्रदेश अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ भने कोशी प्रदेश अझै पनि जितविहीन रहँदै तालिकाको पुछारमा छ ।