धादिङ रोराङका इस्तराम दम्पतीलाई नागरिकता

चैत्र २१, २०८२ |पोषनाथ अधिकारी
धादिङ रोराङका इस्तराम दम्पतीलाई नागरिकता

धादिङ । दुई पुस्तादेखि ओडारमा जीवन जिइरहेका धादिङ बेनीघाट रोराङका इस्तराम प्रजा भनिने पाँचहाते प्रजा र उहाँकी श्रीमतीलाई आज नागरिकता प्रदान गरिएको छ ।

गत चैत ९ गते सोमबार कान्तिपुर टेलिभिजनमा इस्तराम र उहाँको परिवारका बारे समाचार प्रसारण भएको थियो । समाचारमा इस्तरामका छोरा बुहारीको नागरिकता बनेको भए पनि इस्तराम र उहाँकी श्रीमतीको नागरिकता नबनेको उल्लेख थियो । मैवाङको ओडारमा बस्ने उहाँले शनिबार नागरिकता पाउनुभयाे ।

वंशजका आधारमा सहजै नागरिकता पाउनु पर्ने भए पनि वृद्ध अवस्थासम्म आई पुग्दा पनि नागरिकता बिनै बसेका प्रजा र उनकी श्रीमतीलाई शनिबार नागरिकता प्रदान गरिएको छ । इस्तराम प्रजा यो उहाँका बुबाले राखिदिएको नाम हो । अल्को भएका कारण उनलाई गाउँमा चिन्नेले पाँचहाते भनेर चिन्दथे सोहि अनुसार छोराको नागरिकता बनाउँदा बाबुको नामको महलमा पाँच हाते प्रजा लेखियो सोहि अनुरूप शनिबार उहाँले पाँचहाते प्रजाको नाममा नागरिकता पाएका छन् । 

जिल्ला प्रसासन कार्यालय धादिङले छोराको नागरिकताको आधारमा अभिलेख खोज्दा नागरिकता बनेको नभेटिएपछि वडा कार्यालय सँगको समन्वयमा पाँचहाते र उनकी श्रीमती विखिमायाँलाई शनिबार प्रमुख जिल्ला अधिकारीसहितको टोली ओडारमा नै पुगेर नागरिकता प्रदान गरेको हो । नागरिकतासँगै राष्ट्रिय परिचय पत्रको फर्म पनि शनिबारनै भरिएको छ ।

पाँचहाते प्रजा, उहाँकी श्रीमती विखिमायाँ, छोरा सुब्बा र बुहारी विष्णुमायाँ बेनीघाट रोराङ गाउँपालिका ९ मैवाङको ओडारमा बस्दै आएका छन् । नागरिकता नभएकै कारण उनीहरूले सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता लिन समेत वञ्चीत छन् । 

शनिबार नागरिकता प्रदान गरिएसँगै सामाजिक सुरक्षा भत्ता प्रदान गर्न कुमारी बैकले पनि इस्तरामको ओडारमा नै आएर खाता खोलीदिएको छ । अब उनीहरूको सामाजिक सुरक्षा भत्ता लिने बाटो पनि खुलेको छ । नागरिकता पाएपछि पाँचहाते प्रजा परिवार आज दङ्ग छन् ।

नेपालको संविधान धारा ३७ ले सबै नागरिकलाई आवासको अधिकार दिएको छ । तर, पाँचहाते र उहाँको परिवारले अहिलेसम्म ढुङ्गामुनि जिवन जिइरहेको छ । समाचारपछि अहिले धेरै जनाको सहयोगमा उहाँलाई भूगोल सुहाउँदो चिटिक्क परेको घर निर्माण गर्ने काम पनि भइरहेको छ । शनिबार नागरिकता पाएका उनीहरूले केही दिनमा नै ओडारबाट घरमा बस्न पाउने छन् ।

गाउँमा नै आएको सिंहदरबार कहिलै नभेटेका पाँचहाते र उनकी श्रीमतीले विखिमायाँले समाचार प्रसारण भएको १३ दिनपछि ओडारमा नै नागरिकता पाए नागरिकता भन्दा धेरै खुसी, निर्माणधीन घर सम्पन्न भएपछि केही दिनमा ओडारबाट उनीहरू घरमा सर्ने छन् , यो देशको नागरिक भएको अनुभूति गर्ने छन् ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।