
काठमाडौै । निर्वाचन आयोगले मतदानका दिन सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले फागुन २० गते रातिदेखि मतदान नसकिँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन, कूटनीतिक नियोगका सवारीसाधनहरू र पास प्राप्त गरेका सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लाग्नेछ । मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाइ उडान भने यथावत रहने जनाइएको छ ।
यसैगरी निर्वाचन अवधिभरका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लागेको छ । निर्वाचन सुरक्षा योजना अन्तर्गत मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको हो ।
यसैगरी निर्वाचनको ७२ घन्टाअघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय नाका बन्द गर्न पनि आयोगले गृहमार्फत् ७७ वटै प्रशासन कार्यालयलाई आग्रह गरेको छ । यही फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध हुनेछ । यस अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ ।
यसैबीच आयोगले निर्वाचनको तयारी र प्रक्रियाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको छ । कूटनीतिक समुदायका लागि आज आयोजित विशेष ब्रिफिङ कार्यक्रममा आयोगले निर्वाचन स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न आयोग पूर्ण रूपमा तयार रहेको पनि जनाएको हो । निर्वाचन अन्तर्राष्ट्रिय समुदायको पनि चासोको विषय हुने भएकाले नेपालको निर्वाचनमा विश्व समुदायको सकारात्मक सहयोग र सहभागिताका लागि 'ब्रिफिङ' गरिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले निर्धारण गरेको प्रोटोकल पालना गरेर कूटनीतिक नियोगका प्रमुख वा प्रतिनिधिले चाहेको स्थानमा गएर अवलोकन गर्नसक्ने प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
यसैबीच आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डाक्टर निकोलस भुसाललाई जनही २५ हजार रुपैयाँ जरिवाना गरेको छ । त्यसैगरी श्रम शक्ति पार्टीलाई पनि २५ हजार जरिवाना गरेको आयोगले जनाएको छ ।