
सुर्खेत । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले भदौ अन्तिम साताको जेन–जी आन्दोलनको सन्दर्भमा मुलुकमा दुई अतिवादी सोच देखापरेको टिप्पणी गर्नुभएको छ । बिहीवार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई लक्षित गर्दै जेन–जी आन्दोलनलाई स्वीकार नगर्ने र आन्दोलनको जगमा राजनीतिक स्वार्थको रोटी सेक्ने प्रवृत्ति मुलुकमा देखापरेको भन्दै दुवै अतिवादी सोच भएको टिप्पणी गर्नुभयो ।
यस्ता सोचले पुनः दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिँदै सभापति थापाले दुवै अतिवादी धारसँग नेपाली काँग्रेस असहमत रहेको स्पष्ट पार्नुभयो । उहाँले अब सरकारको गोलीबाट कुनैपनि निहत्था नागरिकले ज्यान गुमाउन नपर्ने वातावरण सिर्जना गर्नुुपर्ने बताउनु भयो । उहाँले अब कुनैपनि मुकुण्डोधारीले सिंहदरबार जलाउन नसक्ने दाबी पनि गर्नुभयो ।