
काठमाडौै । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार दिने विषय स्वाभाविक भएको बताउनुभएको छ ।
ओलीले आफ्नो परम्परागत निर्वाचन क्षेत्र रोज्नु एमालेको आन्तरिक निर्णय भएको भन्दै यसमा कुनै विशेष टिप्पणी गर्न आवश्यक नरहेको बताउनु भएको हो । बिहीवार पत्रकार सम्मेलनका क्रममा उहाँले ओली र झापा ५ को सम्बन्ध पुरानो भएको स्मरण गराउनु भयो । एमाले अध्यक्ष ओलीले झापालाई नै आफ्नो मुख्य चुनावी आधार क्षेत्र बनाउँदै आएको सन्दर्भमा यसलाई सामान्य राजनीतिक प्रक्रियाको रूपमा व्याख्या गर्नुभयो । विगतका निर्वाचनहरूमा पनि ओली सोही क्षेत्रबाट निर्वाचित हुँदै आउनुभएको थियो । नेपाली राजनीतिमा पछिल्लो समय एमाले र नेपाली कम्यनुनिष्ट पार्टीबीचमा तिक्तता देखिँदै आएपनि विपक्षी दलको नेताको चुनावी क्षेत्रका बारेमा दाहालले देखानुभएको यो सन्तुलित प्रतिक्रियालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।