
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि ७ दिन बाँकी रहेको छ । यसबीचमा दलहरुले चुनावी गतिविधि तिब्र पारेका छन् भने निर्वाचन आयोगले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएको छ ।
निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र पुर्याएको छ। मतपत्रसँगै आवश्यक सबै निर्वाचन सामग्री सम्बन्धित स्थानमा पुगिसकेको आयोगले जनाएको छ। सेतो कागजमा कालो रङमा निर्वाचन चिह्न भएको समानुपातिक मतपत्र छापिएको छ। मतपत्रमा ५८ वटा दलको निर्वाचन चिह्न छ। समानुपातिकतर्फ २ करोड ८ लाख प्रति मतपत्र छापिएको छ। देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन्। त्यस्तै, १ सय ६५ निर्वाचन क्षेत्रमा गरी प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ उम्मेदवार छन्।
निर्वाचन क्षेत्रअनुसार घटीमा ५ देखि ४५ जनासम्म उम्मेदवार छन्। कम उम्मेदवार भएका ठाउँमा सानो र धेरै उम्मेदवार भएका स्थानमा ठूलो आकारको मतपत्र तयार भएको छ। प्रत्यक्षतर्फ २ करोड ३ लाख प्रति मतपत्र छापिएको छ। मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा र मुगुका मतपत्र हेलिकोप्टरबाट पुर्याइएको छ। अन्यत्र भने स्थल मार्गबाटै मत पत्र पठाइएको आयोगले जनाएको छ।
देशभर १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन सुरक्षा योजनाका साथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा निर्वाचन प्रहरी फिल्डमा परिचालित भइसकेका छन् । सबै गरेर ३ लाख ३९ हजार सुरक्षाकर्मी खटिएका छन्।
यसैबीच कांग्रेसले आज एकैदिन सुर्खेत, बाँके र रूपन्देहीमा गरी तीन स्थानमा चुनावी सभा गर्ने भएको छ।
सुर्खेत, बाँके र रूपन्देहीमा आज हुने चुनावी सभामा सभापति गगन कुमार थापा र उपसभापतिद्वय विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने बताइएको छ ।