देश संकटमा परेका बेला समाधान दिन सक्ने एकमात्र दल कांग्रेस रहेको विश्वप्रकाशकाे भनाइ

फाल्गुन १३, २०८२ |विकास आर्या
देश संकटमा परेका बेला समाधान दिन सक्ने एकमात्र दल कांग्रेस रहेको विश्वप्रकाशकाे भनाइ

महोत्तरी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश संकटमा परेका बेला समाधान दिन सक्ने एकमात्र राजनीतिक शक्ति नेपाली कांग्रेस रहेको बताउनु भएको छ ।

मुलुक राजनीतिक अस्थिरता र आर्थिक चुनौतीको सामना गरिरहेका बेला लोकतान्त्रिक अभ्यास र ऐतिहासिक भूमिकाको आधारमा समाधान दिन सक्ने क्षमता कांग्रेससँग मात्रै रहेको उपसभापति शर्माले दाबी गर्नुभयो । महोत्तरीको जलेश्वरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले ऐतिहासिक परिवर्तनका हरेक चरणमा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको स्मरण गराउनुभयो । 

राणाशासनको अन्त्यदेखि राजसंस्थाको अन्त्यसम्मका आन्दोलनमा कांग्रेस अग्रपंक्तिमा रहेको उल्लेख गर्नुहुँदै उहाँले सशस्त्र द्वन्द्वको अन्त्य र शान्ति प्रक्रियामार्फत माओवादी शक्तिलाई मूलधारमा ल्याउन पनि कांग्रेसको निर्णायक भूमिका रहेको बताउनुभयो ।

चुनावी सभाअघि नेता शर्माले जलेश्वरस्थित सहिद पार्क पुगेर सहिदहरूको स्मारकमा माल्यार्पण गर्नुभएको थियो । सहिदहरूको बलिदानकै कारण मुलुकमा लोकतान्त्रिक व्यवस्था स्थापना भएको उल्लेख गर्नुहुँदै उहाँले लोकतन्त्रको रक्षा र सुदृढीकरण सबै राजनीतिक शक्ति र नागरिकको साझा दायित्व भएको बताउनुभयो ।

उहाँले देशमा उल्लेख्य काम भएको दाबी गर्दै पछिल्लो समय युवापुस्तामा देखिएको असन्तुष्टि र प्रश्नलाई हल्का रूपमा लिन नहुने धारणा राख्नुभयो । पार्टीभित्र रूपान्तरणको प्रक्रिया अघि बढिरहेको उल्लेख गरनुहुँदै उहाँले विगतमा ८५ वर्ष उमेरका सभापतिले नेतृत्व गरेको पार्टीमा अहिले युवापुस्ताको सक्रिय उपस्थिति र नेतृत्व देखिनु सकारात्मक संकेत भएको दाबी गर्नुभयो । 

कांग्रेस अब विकास, सुशासन र आर्थिक समृद्धिको स्पष्ट एजेन्डासहित अघि बढ्ने उहाँको भनाइ छ । चुनावी सभामा उहाँले नेपाली कांग्रेसका उम्मेदवारहरूले मत माग्दा गरेका प्रतिबद्धता जितेपछि पूरा गरे वा नगरे भन्ने विषय अब पार्टीको केन्द्रीय कार्यालयले अनुगमन गर्ने विषयमा स्पष्ट पार्नुभयो ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।