
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि २५ दिन बाँकी रहेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पालनामा ध्यान दिन राजनीतिक दल र सरोकारवाला सबैलाई आग्रह गरेको छ भने सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले गरिसकेको जानकारी दिनुभयो । उहाँले अहिले सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेकाले त्यसलाई रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अध्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने जानकारी पनि दिनुभयो ।
निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या/भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानीमा पनि टोलीले काम गरिरहेको उहाँको भनाइ छ ।
निर्वाचन नजिकिएसँगै दलहरुले चुनावी गतिविधि बढाएका छन् भने निर्वाचन आयोगले तयारीलाई तिब्र पारेको छ ।