
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी कुनै विदेशी शक्तिको आशीर्वादमा नबनेको बताउनुभएको छ ।
काठमाडौं २ बाट उम्मेदवार बन्नुभएकी नेतृ कुन्ती पोखरेलको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । राप्रपा नेपाली माटोमा संघर्षबाट जन्मिएको उल्लेख गर्दै उहाँले राप्रपालाई निषेध गरेर जान सकिन्छ भन्ने भ्रम नपाल्न चेतावनी दिनुभयो । अध्यक्ष लिङदेनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि सरकारले पटक–पटक गरिरहेको अवरोध र पक्राउको निन्दा गर्दै सरकारले नियतवश नै प्रसाईंलाई निरुत्साहित पार्न खोजेको आरोप लगाउनु भयो ।
संविधानले वाक स्वतन्त्रता, हिँडडुलको स्वतन्त्रता र विरोध गर्ने अधिकार सुनिश्चित गरेको भन्दै उहाँले शान्तिपूर्ण ढंगले निर्वाचन बहिष्कार गर्छु वा विरोध गर्छु भन्न पाउने नागरिकको मौलिक अधिकार भएको जिकिर गर्नुभयो । उहाँले मतदाताहरूलाई फेसबुक, रिल र टिकटकका आधारमा धारणा नबनाई देशको भविष्यलाई केन्द्रमा राखेर सोच्न आग्रह गर्नुभयो ।