विद्यार्थी आन्दोलन, राजद्रोहदेखि विशेष महाधिवेशनको विद्रोहसम्म

नवनिर्वाचित कांग्रेस सभापति गगन थापाको राजनीतिक यात्रा
माघ १, २०८२ |कान्तिपुर टीभी संवाददाता
 विद्यार्थी आन्दोलन, राजद्रोहदेखि विशेष महाधिवेशनको विद्रोहसम्म

काठमाडौं । राजनीतिमा गगन थापाको पहिचान त्रिचन्द्र क्याम्पसमा आईएस्सी पढ्दै गर्दा नेविसंघको गतिविधिबाट सुरु भएको हो । २०५१ मा स्ववियु सदस्य निर्वाचित भएका उहाँ दुई वर्षपछि स्ववियु सभापति हुनुभएको थियो २०५७ मा नेविसंघको उपाध्यक्ष र २०५९ मा महामन्त्री बनेका उहाँ विद्यार्थी आन्दोलनका क्रममा राजद्रोहको आरोपमा पटक–पटक पक्राउ समेत पर्नुभयो । ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि त्यसविरुद्ध १ पुस २०६० मा भएको विद्यार्थी आन्दोलनमा नारा घन्काउँदा सूर्यबहादुर थापा नेतृत्वको तत्कालीन सरकारले नेविसंघका तत्कालीन अध्यक्ष गुरुराज घिमिरे, महामन्त्री थापा र अनेरास्ववियुका नेता पुरुषोत्तम आचार्यलाई राजद्रोहको आरोपमा पक्राउ गर्‍यो।

गगनले २०५९ देखि नै गणतन्त्रको मुद्दा बोक्नु भएको थियो । यसका लागि उहाँलाई पार्टी नेतृत्वले समेत पटक पटक तर्साएको थियो । तर २०६२ को भदौमा सम्पन्न महाधिवेशनबाट कांग्रेसले आफ्नो विधानबाट ‘संवैधानिक राजतन्त्र’ मान्ने प्रतिबद्धता फिर्ता गर्‍यो। त्यसपछि भएको २०६२/०६३ को जनआन्दोलनमा गगन विद्यार्थी नेताका तर्फबाट अग्रपंक्तिमा उभिनुभयो । जनआन्दोलनताका शान्तिवाटिकामा उहाँले ढुंगा हान्दै गरेको फोटो अहिले पनि बेला–बेला सामाजिक सञ्जालमा देखिने गरेको छ।

जनआन्दोलनको सफलतापछि २०६४ मा भएको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट थापा संसदमा छिर्नुभएको हो ।

मंसिर २०७८ मा भएको १४ औं महाधिवेशनमा गगन महामन्त्रीमा निर्वाचित हुनुभएको थियो ।

काठमाडौंमा गएराति सम्पन्न विशेष महाधिवेशन पक्षधरहरूले सभापतिमा गगन थापासहित १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्य निर्वाचित गरेका छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.