
काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षले गुटगत भेला र छलफल तिव्र पारेका छन् ।
संस्थापन पक्षबाट नेता कृष्णप्रसाद सिटौलासहितले बानेश्वरमा अलग्गै भेला गरेका छन् भने २५ जना केन्द्रीय सदस्यले विशेष महाधिवेशन पक्षधरसँग वार्ता गरेर सहमति खोज्न नेतृत्वलाई आग्रह गरेका छन् । आजै विशेष महाधिवेशन पक्षधर नेताहरूले दिउँसो पत्रकार सम्मेलन गर्दैछन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको पत्रकार सम्मेलन भने स्थगित भएको छ ।
आइतबार सुरू हुने विशेष महाधिवेशनका लागि तयारी तिव्र भैरहँदा नेपाली कांग्रेस संस्थापन पक्षकै २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशन पक्षसँग वार्ता गर्न नेतृत्वलाई अपील गरेका छन् । उनीहरूले प्रतिनिधिहरूको मतको सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण बनाउन सभापति शेरबहादुर देउवासँग अपील गरेका हुन् ।
ललितपुरको कुपन्डोलमा शनिबार बिहान भएको छलफलपछि विज्ञप्ति जारी गर्दै सो समूहले विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै संवाद र सहमतिको वातावरण निर्माण गर्न नेतृत्वलाई अपील गरेको हो । यता संस्थापन पक्षकै केही नेताहरूले बानेश्वरमा भेला गरेर अहिलेको सन्दर्भमा चुनावको तयारीमा जुट्नुपर्ने माग गरेका छन् ।
नेता कृष्णप्रसाद सिटौलाले भेलालाई सम्बोधन गर्दै विशेष महाधिवेशन अहिलेको आवश्यकता नभएको जिकिर गर्नुभयो । विशेष महाधिवेशन रोक्न सक्रिय संस्थापन पक्षले शनिबार बोलाएको पत्रकार सम्मेलन भने स्थगित गरिएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बोलाएको पत्रकार सम्मेलन स्थगित भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यता, विशेष महाधिवेशन पक्षधरले दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।