फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विरोध खतिवडा उम्मेदवार नबन्ने

पुस २३, २०८२ |बालकृष्ण अधिकारी
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विरोध खतिवडा उम्मेदवार नबन्ने

हेटाैंडा । नेपाली कम्युनिस्ट पार्टीका नेता विरोध खतिवडा फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताउनुभएकाे छ ।

नेकपा मकवानपुरले मकवानपुरका दुबै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि खतिवडाको नाम सिफारिस गरेको थियो। पूर्व स्वास्थ्यमन्त्री खतिवडाले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी दुबै निर्वाचन क्षेत्रबाट आफ्नो नाम सिफारिस गरिएकोमा आभार प्रकट गर्दै आउॅंदो निर्वाचनमा उम्मेदवार नबनि पार्टीका साथीहरूलाई सहयोग गर्ने बतोउनुभयो ।

पार्टीले बनाएको उम्मेदवार जिताउन अभियानमा सक्रियता पुर्वक लाग्ने उहाँले बताउनुभयो । राष्ट्रिय पञ्चायत हुँदै प्रतिनिधि सभाको सदस्यका रूपमा मकवानपुरबाट ६ पटक उम्मेदवार बनेर चार पटक सफलता हात पार्न सफल हुनुभएको थियो ।

२०४३ सालमा मालेको तर्फबाट जनपक्षीय उम्मेदवारको रूपमा खडा हुनुभएका उहाँ पराजित हुनुभएको थियो । २०४८, २०५१, २०५६ र २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा उहाँले विजय हासिल गर्नुभयो । एमाले विभाजित भएपछि तत्कालीन एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्री बन्न सफल हुनुभएका खतिवडा २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा एकीकृत समाजवादीबाट उम्मेदवार बनेर पराजित हुनुभयो । 

विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय खतिवडा प्रखर वक्ताका रूपमा पनि परिचित हुनुहुन्छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।