
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको विशेष महाधिवेशन पुसभित्रै गर्ने अडानप्रति आपत्ति जनाउनुभएको छ ।
शनिबार कांग्रेस नेता डा. शेखर कोइराला पक्षधर नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आपत्ति जनाउनुभएको हो । उहाँले विशेष महाधिवेशन जसरी पनि गर्ने महामन्त्रीहरूको अडान पार्टीको निर्णय नभइ व्यक्तिगत मत भएको दाबी गर्नुभयो ।
पार्टीभित्र विशेष महाधिवेशनको सन्दर्भमा बहस, विचार, विमर्श भएकोले पार्टीको अन्तिम निर्णयलाई आत्मसाथ गरेर जानुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टीमा रहेका सबै नेताहरूको एउटै विचार नहुने भन्दै पार्टीको निर्णय स्वीकार गरेर जानुपर्ने उहाँले बताउनु भयो । पार्टीको निर्णय चित्त नबुझे नेता, कार्यकर्तामाझ आफ्ना मुद्दा बोकेर जान सकिने उहाँले उल्लेख गर्नुभयो ।
सहमहामन्त्री परियारले बहुमत पार्टीका सदस्यहरूले गरेको निर्णयलाई लत्याएर महामन्त्रीहरूले आफूले गरेको निर्णय नै सही र सत्य हुने दाबी गर्न नहुने पनि बताउनु भयो । कांग्रेसको शुक्रबार बसेको केन्द्रिय कार्यसमितिको बैठकले आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा १५ महाधिवेशन गर्ने निर्णय गरेको छ । यता महामन्त्रीद्वयले भने पुसको अन्तिमसम्म विशेष महाधिवेशन गरी छोड्ने अडान लिनुभएको छ ।