
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीको प्राथमिकता निर्वाचन नै भएको बताउनुभएको छ ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलसँगकाे भेटमा देउवाले सो कुरा प्रष्टयाउनुभएको हो । उहाँसँगको भेटबारे सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खरेलले सभापति देउवाले नेपाली कांग्रेसको प्राथमिकता संसद् पुनःस्थापना नभएको प्रष्ट पार्नुभएको बताउनु भयो ।
उहाँले निर्वाचनको वातावरण बनाउन देउवाले सरकारलाई आग्रह गर्नुभएको पनि जानकारी दिनुभयो । त्यसअवसरमा सभापति देउवाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि कांग्रेसले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।
सञ्चारमन्त्री खरेलले भन्नुभयो,‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको प्राथमिकता चाही निर्वाचन नै हो । नेपाली कांग्रेसको प्राथमिकता संसद् पुनःस्थापना होइन भनेर प्रष्टसँग मसँगको कुराकानीमा बताउनुभएको छ । र, निर्वाचनको वातावरण बनाउनका लागि उहाँले सरकारसँग आग्रह गर्नुभएको छ । र, सुरक्षाको वातावरण बनाउनु पर्यो भन्ने उहाँको चासो रहेको छ । र, कांग्रेसको तर्फबाट निर्वाचन समयमा सम्पन्न गर्नका लागि गर्नुपर्ने सहयोग नेपाली कांग्रेसले गर्छ भन्ने उहाँको कुरा रहेको छ ।’
सरकारले निर्वाचन गराउनका लागि प्रमुख तीन दलका शीर्ष नेताहरूसँग भेटवार्तालाई निरन्तरता दिँदै आएको छ । यसै क्रममा भोलि (शनिबारण प्रधानमन्त्री सुशीला कार्कीले पनि देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।