
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव रघुवीर महासेठले सरकारले नै एमालेलाई निर्वाचनमा सहभागी गराउन नचाहेको आरोप लगाउनुभएको छ ।
एमाले मुख्यालय च्यासलमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले एमाले कहिल्यै निर्वाचनको विपक्षमा नरहेको पनि बताउनु भयो । तर सरकार नै एमालेलाई निर्वाचनबाट वञ्चित गराउन लागेको उहाँले दाबी गर्नुभयो ।
एमालेको अध्यक्षमाथि स्थानहद तोकेर एमाले निर्वाचनमा भाग लिन नसक्ने उहाँले बताउनु भयो । उहाँकाअनुसार सरकारले निर्वाचन चाहेको भए एमाले अध्यक्ष केपी ओलीलाई स्थानहद तोक्ने थिएन । सरकारले स्थान हद हटाएर निर्वाचनको वातावरण बनाउन पनि उहाँले आग्रह गर्नुभयो ।
उहाँले चुनावी वातावरण बनाउने काम एमालेको नभइ सरकारको भएको बताउनु भयो । वर्तमान सरकारले निर्वाचन गर्नै नचाहेको र निवार्चन गर्न पनि नसक्ने उहाँको दाबी छ । हालसम्म बनेका अन्तरिम सरकार सफल भए पनि वर्तमान सरकार असफलताको बाटोमा हिँडेको उहाँले बताउनु भयो ।
अन्तरिम सरकारका मन्त्रीहरू नै दल खोलेर राजनीतिक गतिविधि गरिरहको उहाँको भनाइ छ । उहाँले मन्त्रीमण्डलमा रहेका सदस्यहरूलाई राजनीतिक गतिविधिमा रोक लगाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । छानबिन आयोगको गतिविधिले निर्वाचन गर्ने वातावरण नै बिगारेको उहाँको भनाइ छ ।