
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले अन्तरिम सरकारसँगको १० बुँदे सम्झौता पक्षधर जेन-जीहरूले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका रहेको बताउनुभएको छ ।
मंगलबार कांग्रेसको पार्टी कार्यालय निरीक्षण एवं वार्ताका लागि सानेपा पुगेको सरकारद्वारा गठित राजनीतिक वार्ता समितिसँगको छलफलमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । जेन-जी अगुवा सुदन गुरूङले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा निर्वाचन हुन नदिने भन्नुभएको उल्लेख गर्नुहुँदै यसले सरकार निर्वाचन गराउन लागि परेको भन्नेमा आशंका उब्जाएको उहाँले बताउनु भयो ।
निषेधको राजनीति गरेर र निषेधको भावनाबाट निर्वाचन हुन नसक्ने उहाँको भनाइ छ । सरकार निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहीत ढंगबाट सम्पन्न गर्नतर्फ नलागेको उहाँले आरोप लगाउनु भयो । पुराना वा नयाँ पार्टीको नाममा कुनै पनि पार्टीलाई यात्रामा रोकेर निर्वाचन सम्पन्न हुन नसक्ने उहाँले जिकिर गर्नुभयो । उहाँले कोही पनि मतदाताको मताधिकार नखोसियोस् भन्नेमा कांग्रेस दृढ रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘१० बुँदे सम्झाैता गर्नेहरूले नै सम्झौताको मसी सुक्न नपाउँदै निर्वाचन हुन दिँदैनौँ भनिरहेका छन् । सम्झौता त यहाँहरूकै अघि च्यातिएको छ । के भइरहेको छ । नच्यात्ने पक्षले चुनाव हुन दिन्नौँ भनिसके । त्यसप्रति कतिको गम्भीर हुनुहुन्छ, हामी ध्यानपूर्वक हेरिरहेका छौँ । यहाँहरूको प्रधानमन्त्रीले जसलाई जेठो छोरो भन्नुभयो, त्यही जेठो छोरोले चुनाव हुन दिन्नौँ भनेपछि हामीले के भन्नु ? हाम्रो के लाग्छ । केही न केही त छ । आशंका झन बलियो बनायो ।’
उपसभापति गुरूङले कांग्रेस निर्वाचनबाट नभाग्ने बताउनु भयो । उहाँले सरकारले निर्वाचनको वातावरण निर्माण गर्न अझै नसकेको जिकिर गर्नुभयो । उहाँले निर्वाचनका लागि शान्ति सुरक्षा पहिलो सर्त रहेको उल्लेख गर्नुहुँदै सरकारले भयमुक्त वातावरण बनाउन नसकेको आराेप समेत लगाउनुभयाे ।