
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस महाधिवेशन केही समय पर धकेलिनसक्ने बताउनुभएको छ ।
कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कांग्रेसको अधिवेशनबारे सबैमा चासो देखिएको भन्दै महाधिवेशन कुनै नौलो कुरा नभएको बताउनु भयो ।
महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया रहेको बताउँदै सञ्चारमाध्यमहरूले धेरै चासो देखाउन जरूरी नरहेको उहाँले उल्लेख गर्नुभयो । आफूले महाधिवेशन सार्न नखोजेको स्पष्ट पार्दै सिरियल नम्बर नभएको क्रियाशील सदस्य बाँड्ने कामले केही समय पर धकेलिएको उहाँकाे भनाइ छ । आफू पुस २६ मै महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा रहेको पनि स्पष्ट पार्नुभयो ।
नेता कोइरालाले सरकारले निर्वाचन फागुन २१ मा तोकेको भए पनि निर्वाचन हुन सम्भव नरहेको बताउनु भयो । निर्वाचनको माहोल कतै नदेखिएको उहाँकाे दाबी छ ।