विपद् जोखिम न्यूनीकरणका लागि विपद् पूर्वानुमानमा आधारित प्रतिकार्यमा ध्यान दिनुपर्छ : दिनेशप्रसाद भट्ट

पुस ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
विपद् जोखिम न्यूनीकरणका लागि विपद् पूर्वानुमानमा आधारित प्रतिकार्यमा ध्यान दिनुपर्छ : दिनेशप्रसाद भट्ट

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले नेपालमा बाढी तथा विपद्जन्य क्षति कम गर्नको लागि एन्टिसिपेटरी एक्सन अर्थात् विपद् आउनुअघि नै सम्भावित जोखिमको अनुमान गरेर गरिने पूर्वतयारी र रोकथामका कामहरूमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

विपद् हुनुअघि नै त्यसको असर कम गर्ने उपाय पहिचान गरी सोहीअनुसार योजना बनाइ काम गर्नु नै एन्टिसिपेटरी एक्सन हो । कार्यकारी प्रमुख भट्टले यसअघि विपद्‌बाट क्षति भइसकेपछि मात्रै राहत तथा उद्धारका कार्यक्रम लिएर विपदग्रष्त क्षेत्रमा जाने गरेकोमा अब भने यो विधिलाई परिवर्तन गरी पूर्व तयारीमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

प्रमुख भट्टले जलवायुजन्य विपद्को जोखिम छ भन्ने थाहा पाएर मात्रै नहुने र पूर्वकार्य तथा प्रतिकार्य गर्नुपर्ने बताउनु भयो । बाढी वा पहिरो आउँछ भन्ने थाहा पाएपछि उक्त क्षेत्रमा बसिरहेका समुदायका नागरिकलाई सुरक्षित क्षेत्रमा लैजाने, त्यहाँ पनि बसोबास, खाद्यान्न र शौचालयको व्यवस्था गर्ने कुरा पूर्वकार्यमा पर्दछ ।

विपद्जन्य जोखिमबाट हुने मानविय तथा भौतिक क्षतिलाई न्यूनीकरण गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्राधिकरणले पूर्वसूचना प्रणालीको विषयलाई पनि प्राथमिकतामा राखेको उहाँले बताउनु भयो । विपद् पूर्वानुमानमा आधारित प्रतिकार्यसम्बन्धी राष्ट्रिय कार्यढाँचा पूर्वतयारीमा केन्द्रित भएको भए पनि पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित बनाउन पनि काम भइरहेको उहाँको भनाइ छ । 

सबैमा सजिलै कसरी सूचना पुर्‍याउने भन्नेमा गहन ढंगले काम भइरहेकै कारण यस वर्षको मनसुनमा विगतका वर्षहरूमा भन्दा क्षति कम भएको उहाँको दाबी छ । पूर्वतयारी र पूर्वसूचनालाई बलियो ढंगले अघि बढाउनसके मात्रै विपद् न्यूनीकरण गर्नमा सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

विपद्‌बाट धेरै प्रभावित रहने नेपाल जस्तो देशका लागि भने पूर्वतयारी सधैं आवश्यक रहने भएकाले तीन तहकै सरकार, सुरक्षा निकाय र नागरिकको सहकार्यमा सधैं पूर्वतयारी र पूर्वकार्यको काम गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.