एमालेको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी

पचास प्रतिशत मत गन्दा अध्यक्षमा ओलीको अग्रता, महासचिवमा पोखरेल अगाडि
पुस ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी

काठमाडौं । एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना जारी छ । निर्वाचनमा प्रयोग भएका ८० वटा विद्युतीय मेसिनबाट चिप्स निकालेपछि मतगणना सुरु भएको हो ।

अहिलेसम्म करिब ५० प्रतिशत मत गणना सकिएको छ । ११ सय ३९ मत गणना गर्दा अध्यक्षमा केपी शर्मा ओली ८ सय ४३ मतका साथ अगाडि हुनुहुन्छ भने ईश्वर पोखरेलले २ सय ९६ मत ल्याउनुभएको छ । महासचिवमा शंकर पोख्रेलले ६ सय १३ मतका साथ अग्रता लिनुभएको छ भने सुरेन्द्रप्रसाद पाण्डेले ५ सय २६ मत ल्याउनुभएको छ ।

११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले दुवै पक्षका उम्मेदवारका प्रतिनिधि, केन्द्रीय निर्वाचन आयोगका सदस्यहरूको उपस्थितिमा मतगणना सुरु गरिएको जानकारी दिनुभएको छ ।

उहाँका अनुसार सबै रुजु गरिसकेर सबै पक्षले सहमति जनाएपछि नतिजा सार्वजनिक हुनेछ । आजै एमालेको ११औं केन्द्रीय कमिटी घोषणा हुन्छ । आजै निर्वाचन आयोगका अध्यक्ष सुब्बाले पार्टीका नवनिर्वाचित अध्यक्ष, लेखा आयोग र अनुशासन आयोगको अध्यक्षलाई शपथ गराउनु हुनेछ । त्यसपछि आजै पार्टीका नवनिर्वाचित अध्यक्षले केन्द्रीय कमिटीका सदस्यहरूलाई शपथ गराउने पनि सुब्बाले जानकारी दिनुभयो ।

२ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरुले नेतृत्वका लागि मतदान गरेसँगै आज बिहान मतदान सम्पन्न भएको हो । मतदानका क्रममा ३६ जना महाधिवेशन प्रतिनिधि भने अनुपस्थित रहे ।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा भएको छ । अन्य पदाधिकारीमा पनि दुवै पक्षबाट प्यानल नै सहभागी छ ।

केपी शर्मा ओली तेस्रो पटक एमाले अध्यक्ष बन्ने प्रयासमा हुनुहुन्छ भने पूर्वमहासचिवसमेत रहेका ईश्वर पोखरेल भने अध्यक्षमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिनुभएको छ । यसअघि ओली काठमाडौंमा २०७१मा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपल्ट अध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यसपछि २०७८ मा सौराहा महाधिवेशनबाट उहाँ दोस्रो पटक अध्यक्ष चुनिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.