
खोटाङ । निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा खोटाङमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना हुने भएको छ।
कोशी प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको तीन करोड लगानीमा केन्द्र सञ्चालन गर्न लागिएको हो ।
प्राकृतिक रूपमा उत्पादन हुने बहुमूल्य जडीबुटीहरूको वैज्ञानिक ढङ्गले सङ्कलन, भण्डारण तथा प्रशोधन गर्न यो केन्द्र स्थापना गर्न लागिएको भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बताउनुभयो।
खोटाङ उद्योग वाणिज्य सङ्घको समन्वयमा दिक्तेलमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले जिल्लामा स्थापना गर्न लागिएको प्रशोधन केन्द्र कोशी प्रदेशकै एकमात्र जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र हुने जानकारी दिनुभयो ।
प्रदेश सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा सञ्चालन हुने यो केन्द्रले जडीबुटीको अव्यवस्थित सङ्कलन र निर्यातलाई व्यवस्थित गर्दै स्थानीयस्तरमै मूल्य निर्धारण गर्नेछ ।
प्रशोधन केन्द्र सञ्चालनमा आएपछि स्थानीय युवाका लागि रोजगारीको अवसर सिर्जना हुने, जडीबुटी खेतीप्रति आकर्षण बढ्ने तथा ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
जिल्लामा उत्पादित जडीबुटी अहिलेसम्म व्यवसायीहरुले आफूखुशी सङ्कलन गरेर लाने गरेका छन् ।
किसानहरुले चिराइतो, पाखनवेद, तेजपात, टिमुर, तुलसी, लोठसल्ला, लेमनग्रास, मजिटो लगायतका जडीबुटीको व्यवसायिक खेती गर्दै आएका छन् ।