
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । भृकुटीमण्डपमा हिजो बिहानदेखि सुरु भएको मतदान रातभर चलेको थियो । मतदान भर्खरै सम्पन्न भएको हो ।
विद्युतीय मतदानबाट मत खसाल्ने व्यवस्था गरिए पनि समयका हिसावले मतदान निकै सुस्त देखिएको थियो । मतदान सुस्त भएकाले आधाभन्दा बढि प्रतिनिधिले चिसो रातमा घण्टौं पालो पर्खेर मत हालेका थिए । निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले मतदान सकिएको र अहिले ९ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने तयारी रहेको बताउनुभयो ।
नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा २२ सय ६३ मध्ये २२ सय २७ प्रतिनिधिले मात्र मत खसालेका छन् । ३६ जना अनुपस्थित रहेको पोखरेलले जानकारी दिनुभयो ।
निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलका अनुसार बिहान ८ देखि ९ बजेभित्र सम्पूर्ण परिणाम तयार हुन्छ । एमाले केन्द्रीय कार्यालयले महाधिवेशनस्थल भृकुटीमण्डपमा बिहान ११ बजे समापन कार्यक्रम आयोजना गरिने सूचना जारी गरेको छ ।
एमालेमा २२ सय ६३ प्रतिनिधि छन् । एमालेमा १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यका लागि ६ सय ४४ जना उम्मेदवार छन् । केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर नेतृ्तवको प्रतिस्पर्धामा हुनुहुन्छ ।