
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा रातभर मतदान भएको छ । हिजो बिहानदेखि सुरु भएको मतदान प्रक्रिया अहिले अन्तिम चरणमा पुगेको छ ।
विद्युतीय मतदानबाट मत खसाल्ने व्यवस्था गरिए पनि समयका हिसावले मतदान निकै सुस्त देखिएको छ । मतदान सुस्त भएकाले आधाभन्दा बढि प्रतिनिधिले चिसो रातमा घण्टौं पालो पर्खेर मत हालेका छन् । निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले मतदान अन्तिम चरणमा पुगेको र बाँकी मतदाताहरू लाइनमा रहेको जानकारी दिनुभयो । मतदान प्रक्रिया सम्पन्न भएपछि तीन घण्टाभित्र नतिजा सार्वजनिक हुने उपाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।
नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा २२ सय ६३ मध्ये २२ सय ५३ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएका छन् । २ जनाको कार्ड हराएको र १ जना मतदानस्थलमा प्रवेश गर्ने अन्तिम समयसम्म पनि त्यहाँ पुगेनन् । अन्तिम समयसम्म मतदान गर्न ८ जना भने लाइन नबसेको पाइएको छ ।
निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलका अनुसार बिहान ८ देखि ९ बजेभित्र सम्पूर्ण परिणाम तयार हुन्छ । एमाले केन्द्रीय कार्यालयले महाधिवेशनस्थल भृकुटीमण्डपमा बिहान ११ बजे समापन कार्यक्रम आयोजना गरिने सूचना जारी गरेको छ ।
एमालेमा २२ सय ६३ प्रतिनिधि छन् । एमालेमा १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यका लागि ६ सय ४४ जना उम्मेदवार छन् । केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर नेतृ्तवको प्रतिस्पर्धामा हुनुहुन्छ ।