प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्छ : प्रदीप पौडेल

पुस १, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्ने बताउनुभएको छ ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको प्रशासनिक संरचनालाई पूर्णरूपमा डिजिटलाईज गर्नुपर्नेमा जोड दिनुभयो । संघीयतालाई कम खर्चिलो बनाउन डिजिटलाईजेसन गर्नुपर्ने उहाँको भनाइ छ । 

उहाँले प्रदेशमा मुख्यमन्त्री, वित्तीयमन्त्री र प्रशासनमन्त्री भए हुने बताउनु भयो । संघीयता हटाउनु समाधान नभइ छरितो बनाउनु आजको आवश्यकता रहेकाे उहाँले औँल्याउनुभयो । संघीयता छरितो बनाउनको लागि चालु खर्च घटाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

चालु खर्च कम गर्नको लागि सरकारी संरचनालाई डिजिटलाईजेसन गर्नुको विकल्प नभएको उहाँले बताउनु भयो । प्रशासनिक संरचनालाई पूर्णरूपमा डिजिटलाईज गर्नसके नेपालको चालु खर्च दुई तिहाइ कटौती हुने उहाँको दाबी छ । 

उहाँले प्रविधि विकास र नागरिकको स्वतन्त्रता पनि जोडिएको बताउनु भयो । प्रविधिको प्रयोगलाई सिर्जनात्मक रूपमा प्रयोग गर्न कानूनी स्पष्टता जरूरी रहेको उहाँको भनाइ छ । कानुन निर्माण गर्दा नागरिकको स्वतन्त्रता हनन हुनेगरी गर्न नहुनेमा पनि उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले सामाजिक सञ्जाललाई नेपालमा दर्ता गर्ने कुरामा समस्या नरहे पनि दर्ताको नाममा बन्द गरिने कार्य भने सह्य नहुने बताउनु भयो । नागरिकको स्वतन्त्रता हनन हुनेगरी कुनै कानुन बनाउन नहुने उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.