नेकपा एमालेको ११‍औं महाधिवेशन आजदेखि, उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा

मंसिर २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेकपा एमालेको ११‍औं महाधिवेशन आजदेखि, उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा

काठमाडौं । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ नेकपा एमालेको एघारौं महाधिवेशन आज सुरु हुँदैछ। भक्तपुरको सल्लाघारीमा हुने समारोहमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्दैहुनुहुन्छ ।

विधानअनुसार हरेक पाँच वर्षमा महाधिवेशन गर्ने व्यवस्था भए पनि यसपालि एक वर्षअघि नै आयोजना गरिएको छ। दशौं महाधिवेशन मंसिर २०७८ मा चितवनमा भएको थियो। जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीति परिस्थितिमा एमाले महाधिवेशन हुन लागेको हो। नीति र विधि तय गर्ने विधान महाधिवेशन गत भदौमा भइसकेकाले यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ।

एमालेले विधानअनुसार ११औँ महाधिवेशनबाट १५ पदाधिकारीसहितको २ सय ५१ सदस्यीय कमिटी रहेको नेतृत्व आगामी पाँच वर्षका लागि नेतृत्व चयन गर्नेछ ।

यसैबीच महाधिवेशनको पूर्वसन्ध्यामा हिजो साँझ बनेको एमाले सचिवाल बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित केन्द्रीय कमिटी थप गर्न ल्याएको प्रस्ताव अस्वीकृत भएको छ ।

विधानमा रहेको प्रावधान अनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्नेबारे पेस भएको नाममा कुरा नमिलेपछि त्यसको टुगो लगाउने जिम्मा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको छ ।

महाधिवेशन प्रतिनिधि २ हजार २ सय ६२ जना छन् । महाधिवेशन अध्यक्षमण्डलमा सचिवालयका सबै पदाधिकारी रहने निर्णय भएको छ ।

आज सल्लाघारीमा हुने महाधिवेशनको उद्घाटन अध्यक्ष ओलीले गर्ने र वक्त्ताहरू आमन्त्रित दलका प्रमुखहरू रहने टुंग्याइएको छ ।

यसैबीच हिजो साँझ बसेको एमाले सचिवालय बैठकले सरकार र जेन-जीबीच भएको १० बुँदे सम्झौता संविधान र कानुनबाहिर गएर गरिएको भन्दै विरोध गरेको छ ।

महाधिवेशनको बन्दसत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन र महसचिव शंकर पोखरेलले सांगठिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ। वरिष्ठ उपाध्यक्ष पोखरेलले ओलीको प्रतिवेदनमाथि ‘काउन्टर’ प्रस्ताव प्रस्तुत गर्ने तयारी गर्नुभएको छ । उहाँले केन्द्रीय कार्यालयमा ‘अवधारणा–पत्र’ दर्ता गराइसक्नुभएको छ ।

महाधिवेशनमा १० हजार स्वयंसेवक परिचालन हुने एमालेले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललगायत नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई महाधिवेशन उद्घाटन समारोहमा आमन्त्रण गरिएको छ। महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुनेछ।

मञ्चमा सम्पदा र अध्यक्ष ओलीको 'कटआउट’ राखेर सल्लाघारीमा मञ्चलाई सिँगारिएको छ। महाधिवेशनको लोगोमै धरहराको चित्र छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.