
काठमाडौै । जेन-जी घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिँदै छ। जेन-जी आन्दोलनका बेला गृहसचिव रहेका दुवाडीलाई अन्तरिम सरकारले असोज ७ गते राष्ट्रिय योजना आयोगमा सरुवा गरेको थियो ।
गृहसचिवको जिम्मेवारी रामेश्वर दंगालले पाउनुभएको थियो । आयोगले २३ र २४ भदौमा गृह मन्त्रालयको जिम्मेवारीमा उहाँ भएकाले तत्कालीन समयमा भएका घटना र पहलसहितका विषयमा बयान लिन लागेको हो । यसअघि जाँचबुझ आयोगले दुवाडीलाई पनि जाँचबुझ आयोगले विदेश जानसहित स्थानीय रूपमा पनि स्थानहद लगाएको थियो। तर उहाँले आफू योजना निर्माणमा उपत्यका बाहिर जानु पर्ने भनी निवेदन दिएपछि हटाइएको थियो । जेन-जी आन्दोलनमा दमन गर्न दुवाडीको पनि भूमिका रहेको भन्दै उहाँलाई पनि आयोगले सुरुमै कडाइ गरेको हो।
आज दुवाडीसँग बयान लिएपछि आयोगले वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाउने तयारी गरेको छ। आईजीपी कार्कीको बयान दुवाडीपछि हुने जाँचबुझ आयोगका प्रवक्ता समेत रहेका पूर्वएआईजी विज्ञानराज शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार त्यसपछि तत्कालीन गृहमन्त्री रमेश लेखकलाई र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइनेछ।