
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू दलहरूलाई निषेध गरेर नभई साथै लिएर र उनीहरूको उत्साहपूर्वक सहभागिता गराएर २१ फागुनमा निर्वाचन सम्पन्न गर्दै सत्ता हस्तान्तरण गर्ने पक्षमा रहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार सम्पादकहरुसँग सम्वाद गर्दै प्रधानमन्त्री कार्कीले दलहरूलाई निषेध गर्नेभन्दा निर्वाचन गराउनेतिर आफू केन्द्रित भएको बताउनुभयो । उहाँले आफूहरू चुनाव लड्ने योजनामा नरहेको, बरु सफल चुनाव गराएर बिदा लिने बताउनुभयो । निर्वाचनका लागि छिमेकी मुलुकबाट सात सय सवारी साधनको आश्वासन आएको र गैरघातक हतियार किन्ने तयारी भैरहेको समेत जानकारी प्रधानमन्त्री कार्कीले दिनुभयो ।
सरकारसँग धेरै अपेक्षा हुनु स्वभाविकै भएको र जेन-जीका कुरा सबैले सुन्नुपर्ने बताउँदै उहाँले कानुनी राज स्थापित गर्नबाट पछि नहट्ने उल्लेख गर्नुभयो । जेन–जी, राजनीतिक दल र सरकार सबैको सहजकर्ताको भूमिका आफूले निभाउने प्रयास गरिरहेको उहाँको दाबी छ ।
उहाँले भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने कुरा सबैभन्दा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै भ्रष्टाचार मुद्दाको प्रक्रिया नै लम्बेतान हुने भएकाले समय लाग्ने दाबी गर्नुभयो । उहाँले जेन–जी समूहबीच नै सहमति हुन नसक्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन आफूलाई समय लागेको बताउनुभयो । प्रधानमन्त्री कार्कीले आर्थिक अनियमिततामा मुछिएका र सरकारको अस्तित्वमाथि नै प्रश्न उठाएपछि राजदूतहरु फिर्ता बोलाउनुपरेको पनि स्पष्ट पार्नुभयो । सबै देशका राजदूतहरू फिर्ता नबोलाएको उहाँको भनाइ थियो ।