जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई जनमत पार्टीले स्पष्टीकरण सोधेको छ ।
राजीनामा दिन आनाकानी गरेको भन्दै जनमतले साधारण सदस्यसमेत नरहनेगरी किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेको हो। पार्टीले निर्देशन दिएपछि जेन-जी आन्दोलनको दोस्रो दिन मुख्यमन्त्री सिंहले फेसबुकमा राजीनामा दिएको घोषणा गरेपनि पछि राजीनामा नगरेको आरोप उहाँमाथि छ ।
पार्टीका केन्द्रीय अनुशासन समिति संयोजक नरेन्द्रप्रसाद चौधरीले ३ दिनभित्र स्पष्टीकरण दिन मुख्यमन्त्री सिंहलाई पत्र काट्नुभएको हो। संसदीय दलले प्रदेश सरकारबाट बाहिरिने र मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको तथा मुख्यमन्त्री स्वयंले फेसबुकमा राजीनामा घोषणा गरिसकेको अवस्थामा अहिले पदबाट राजीनामा नदिएको, पार्टीको छविलाई आँच पुर्याउने काम गरेको, अरू पार्टीहरुसँग साँठगाँठ गरी पार्टीको हितविपरीत काम गरिरहेको भन्दै पार्टीको साधारण सदस्य नरहनेगरी किन कारबाही नगर्ने भनेर स्पष्टीकरण सोधिएको छ ।
जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवका अनुसार संसदीय दलले आफ्नो मुख्यमन्त्री र मन्त्रीहरुलाई फिर्ता बोलाउँदै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालय तथा प्रदेशसभा सचिवालयमा बुझाइसक्दा समेत मुख्यमन्त्रीले राजीनामा नदिएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको हो।
यसअघि बिहीबार नै जनमतका ६ जना प्रभावशाली पदाधिकारीहरूले अध्यक्ष सीके राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाँउदै पार्टी छाडेको घोषणा गरेका छन् ।