संविधानले सामाजिक न्यायमा आधारित समाजको परिकल्पना गरेको राष्ट्रपति पौडेलको भनाइ

आश्विन ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
संविधानले सामाजिक न्यायमा आधारित समाजको परिकल्पना गरेको राष्ट्रपति पौडेलको भनाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा शुभकामना आज सन्देश दिँदै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिने बताउनुभयो । राष्ट्रपति पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको पनि बताउनुभयो । 

उहाँले संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

विसं २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानमा आज राष्ट्रिय दिवसका रुपमा संविधान दिवस मनाइँदैछ। 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.