‘राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ, कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ’

आश्विन २, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ, कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाका राजेन्द्रप्रसाद लिङदेनले राजा आउने सम्भावना अत्यन्त प्रवल बनेको बताउनु भएकाे छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठक पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले यस्ताे बताउनुभएकाे हाे । 

उहाँले जेन-जी पुस्ताले गरेको आन्दोलन राजा ल्याउनका लागि नभइ भ्रष्टाचार र बेथितिका विरूद्ध भएको पनि बताउनु भयो । आन्दोलनले नेपालमा दीर्घकालीन स्थायित्वका लागि, समृद्धि, श्रीवृद्धि र नेपाललाई वैदेशिक हस्तक्षेपबाट जोगाउनका लागि राजसंस्था आवश्यक रहेको पुष्टि भएको उहाँकाे भनाइ छ । 

चाँडै नेपाली जनताले महशुस गरेर राजनीतिक र नेपाली जनताले राजसंस्थालाई अभिभावकीय रूपमा पुनःस्थापित गर्नेमा आफू विश्वस्त रहेको उहाँकाे विस्वास । सबै शक्तिहरूका बीचमा नयाँ समझदारी गरेर देश निर्माणमा लाग्नुपर्ने उहाँले बताउनु भयो ।

यस्तै राप्रपाले सबै राजनीति शक्तिहरूबीच नयाँ समझदारी कायम गरेर अघि बढ्न प्रस्ताव गरेको छ । पार्टीकाे केन्द्रिय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । 

अध्यक्ष लिङदेनले देशमा फेरि कसैले कहिल्यै द्वन्द्व गर्न नपाउने गरी र कसैले पनि आफूलाई उपेक्षित गर्न नपाउने नयाँ समझदारी कायम हुनुपर्ने माग राख्नुभयो । उहाँले देशमा यति ठूलो समस्या हुँदा संसद्ले समाधान गर्न नसक्नुले नै संसद् असफल भएको पुष्टि हुने जिकिर गर्नुभयो । 

संसद् पुनः स्थापना गर्नु भनेको देशलाई फेरि द्वन्द्वमा धकेल्नु रहेको उहाँले बताउनु भयो । अहिलेको जेन-जी विद्रोहले ल्याएको सबैभन्दा ठूलो परिवर्तन पुस्तान्तरण भएको उहाँकाे भनाइ छ । 

राप्रपाले अन्तरिम सरकारले लिने निर्णय र चाल्ने कदमका आधारमा शतर्कतापूर्वक आफ्नो दृष्टिकोण तय गर्दै जाने बताएको छ । राप्रपाले भ्रष्टाचारी र जेन-जी आन्दोलनका नरसंहारकर्तालाई कारबाही हुनुपर्ने माग गरेको छ । सरकार मात्रै परिवर्तन गरेर जेन-जीको बलिदान सफल र पूर्ण नहुने समेत राप्रपाले स्पष्ट पारेको छ ।

अध्यक्ष लिङदेनले प्रदेश सरकारमा पनि राप्रपा सांसदहरूले राजीनामा दिने बताउनु भयो । प्रदेश सभा खारेज भएर जानुपर्ने उहाँकाे भनाइ छ । अन्तरिम सरकार आफैँ संविधान बाहिरबाट आएपछि संविधान मरिसकेको उहाँले बताउनु भयो । 

अहिलेको सरकारले आँट गरेर जेन-जी आन्दोलनको भावनाअनुसार प्रणालीमै सुधार गर्ने आँट गर्नुपर्ने उहाँले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.