देशमा कुशासन र भ्रष्ट्राचारले पराकाष्ठाको सीमा नाघेको छ : राजेन्द्र महतो

भाद्र १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
देशमा कुशासन र भ्रष्ट्राचारले पराकाष्ठाको सीमा नाघेको छ : राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले देशमा कुशासन र भ्रष्ट्राचारले पराकाष्ठाको सीमा नाघेको बताउनु भएको छ । 

विराटनगरमा मङ्गलबार पत्रकार सम्मेलन गरी दुई दलिय सरकारले देशमा लुटतन्त्र मच्चाएको आरोप लगाउनु भएको हो ।

जनताको अधिकार स्थापित गर्न र शासन पद्धतिमा सुधार गर्नुपर्नेमा सरकार भ्रष्ट्राचार र लुटतन्त्रमा फसेको महतोको भनाइ छ । संविधान संशोधन गर्न दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बने पनि अहिले संविधान संशोधन गर्नुको बदला सरकार भ्रष्ट्राचार लगायतका विषयमा मात्र सरकार केन्द्रीत भएको महतोले जिकिर गर्नुभयो । 

रबि लामिछाने जस्ता सहकारी ठगहरू कांग्रेस र एमालेमा पनि रहेको भन्दै अध्यक्ष महतोले तिनीहरूलाई कारबाही गर्नुको साटो सरकारले जोगाएर राखेको बताउनु भयो । 

जनताको आशा र भरोसालाई सरकारले तोडेको महतोको भनाइ छ । जनता गरीब हुँदै जाने र नेता मोटाउँदै गएको भन्दै महतोले बालुवाटार, भुटानी शरणार्थी, गिरीबन्धु लगायतका काण्डमा ठूला दलका नेताहरु संलग्न भएको आरोप लगाउनु भयो । 

विकास र सम्मृद्धिका लागि जनताले ठूला दललाई पठाए पनि उनीहरूले सो काम नगरी लुटतन्त्रमा सहभागी भएको महतोले तर्क गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.