काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश नभइ संघ नै रहेको बताउनुभएको छ ।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । देश संघीयतामा गइसकेपछि पनि संघ सरकार संघीयतामा जान नसकेको उहाँले जिकिर गर्नुभयो ।
कांग्रेस र नेकपा एमालेले सरकार बनाउँदै गर्दा संविधान संशोधन गर्नेकुरा पहिलो प्राथमिकतामा परेको उल्लेख गर्दै अब संख्या वा अन्य कुनै बहानामा पनि पछि हट्न नहुने उहाँले बताउनु भयो ।
उहाँले ठूला शक्तिहरूले जोखिम उठाउनसक्नुपर्ने बताउनु भयो । संविधान संशोधनको विषय कसरी अघि बढाउने भन्नेमा छलफल गर्न सकिने उहाँले बताउनु भयो ।
महामन्त्री थापाले संसद् समावेशी बनाउने र पाँच वर्ष एउटै राजनीतिक दलले देशको नेतृत्व गर्ने अवस्था सिर्जना गर्नेगरी छलफल अघि बढाउन जरूरी रहेको बताउनु भयो । न्यायपालिकाको बारेमा पनि छलफल गर्न जरुरी रहेको उहाँकाे भनाइ छ । अदालतमाथि यसअघि यति धेरै प्रश्न उठेको कुरा आफूले थाहा नपाएको उहाँले बताउनु भयो ।