काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाको संसदीय दलको बैठक रूपन्देहीको भैरहवामा बसिरहेको छ ।
राष्ट्रिय राजनीति र पार्टीले आगामी दिनमा चाल्नुपर्ने कदमबारे छलफल गर्नका लागि रास्वपाले भैरहवामा संसदीय दलको बैठक बोलाएको हो । संसदीय दलको बैठकका लागि रास्वपाका सांसदहरू भैरहवा पुगेका छन् ।
पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा बैठक बसिरहेको हो । रास्वपा सभापति रवि लामिछाने रूपन्देही सहकारी ठगी, संगठित अपराधलगायतका मुद्दाको पूर्पक्षका लागि रूपन्देही कारागारमा रहेका छन् ।
संसदीय दलको बैठक अघि कार्यवाहक सभापति, उपसभापति, महासचिव, प्रवक्तासहितको टोलीले लामिछानेलाई भेट्ने प्रयास गरेका थिए । तर कारागार प्रशासनले सामूहिक भेट दिन अस्वीकार गरेको थियो ।
लामिछानेलाई पार्टीका कार्यवाहक सभापति डिपी अर्याल र सांसद सोबिता गौतमले मात्रै भेट्न पाएका छन् ।