भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेः सांसद शर्मा

श्रावण १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेः सांसद शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो टिप्पणी गर्नुभएको हो । मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषी स्वयं सरकार भएको उहाँको आरोप छ । उहाँले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कडा कदम चाल्न नसके मुलुक कालोसूचीमा पर्ने चेतावनी समेत दिनुभयो । उहाँले भ्रष्टाचार रोक्न सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको आरोप पनि लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रको मुख्य समस्या भ्रष्टाचार बनेको छ । भ्रष्टाचारको मुख्य दोषी सरकार नै हुन्छ । सरकार र भ्रष्टाचार अहिले पर्यायवाची बनेका छन् । सरकारले समस्या अन्यत्र होइन आफैंभित्र खोज्न सक्नुपर्छ । यसलाई रोक्न नसक्दा देश र जनता बर्बादीको दिशामा गइरहेका छन् । र, आउने पुस्ताको भविष्य झन डामाडोल हुँदै गइरहेको छ । यसलाई समयमै रोक्न नसक्ने हो भने देश ग्रे लिष्टमा निस्किने होइन कि सिधै ब्ल्याक लिष्टमा जाने अवस्था आउन सक्छ । भ्रष्टाचार गर्न विशेष कदम चाल्न र सम्पती छानविन गर्न प्रक्रिया अगाडि बढाइयोस् म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

भ्रष्टाचार नियन्त्रण गर्न कडा कदम चाल्न तथा नेताहरुको सम्पती छानबिन गर्ने प्रक्रिया सुरू गर्न सरकारको ध्यानाकर्षण समेत उहाँले गराउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.