मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एउटा पार्टीले बहुमत ल्याउन कठिन छः उपप्रधानमन्त्री सिंह

श्रावण ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एउटा पार्टीले बहुमत ल्याउन कठिन छः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री तथा नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एउटा पार्टीले बहुमत ल्याउन कठिन रहेको बताउनुभएको छ ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक स्थायित्व र स्थिरता नभए विकास निर्माणका काम पनि अघि बढ्न नसक्ने बताउनु भयो । 

राजनीतिक स्थायित्व कायम भएपछि नै अर्थतन्त्रले गति लिने उहाँले बताउनु भयो । कसैको पनि बहुमत नल्याएका कारण नै विभिन्न राजनीतिक दलहरू मिलेर सरकार बनाएको उहाँले जिकिर गर्नुभयो । अहिलेको राजनीतिक वस्तुस्थितिलाई राम्रोसँग केलाएर आफ्नो कदमहरू अघि बढाउनु जरूरी रहेको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘राजनीतिक स्थायित्व र स्थिरता भएन भने विकास निर्माणका काम गर्नको लागि पनि अफ्ठ्यारो हुँदो रहेछ भन्नेकुरा त अनुभवबाटै हामीले थाहा पाइसक्यौँ । राजनीतिक स्थिरताका लागि अहिलेको संविधान, निर्वाचन प्रणाली छ । मिश्रित निर्वाचन प्रणाली भएका कारणले पनि एउटा पार्टीले बहुमत ल्याएर सरकार बनाउन गाह्रो गाह्रै कुरै छ । नेपालको डेमोक्रेटिक मुभमेण्टमा कार्यगत एकताको आधारमा सबैलाइ समेट्न जरूरी छ ।’

उपप्रधानमन्त्री सिंहले आर्थिक रूपान्तरणका लागि पनि राजनीतिक स्थायित्व जरूरी रहेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.