काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी- रास्वपाले कालो वस्त्र र नीलो रिबन लगाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखउनुभएको छ ।
संसद् बैठक सुरू हुन लाग्दा रास्वपाका सांसदहरूले कालो वस्त्र र नीलो रिबन लगाएर संसद्मा उपस्थित भएको देखेपछि प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभएको थियो ।
रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले मानव तस्करीको विरोधमा आफूहरूले कालो वस्त्र र निलो रिबन लगाएको जानकारी दिनुभएको सांसद मनिष झाले बताउनु भयो ।
उहाँले नीलो रिबन मानव तस्करीविरूद्धको विश्वव्यापी संकेत भएको बताउनु भयो । प्रधानमन्त्रीलाई वस्त्रबारे जानकारी गराइसकेपछि प्रधानमन्त्रीले शुभकामना दिनुभएको पनि सांसद झाले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो नीलो रिबन मानव तस्करीविरूद्धको विश्वव्यापी संकेत हो । हामीले यो लगाएका छौँ । साथै कालो ड्रेस लगाएका छौँ । हामीले विगत २२ दिनदेखि विरोध गरिरहेका छौँ । लगभग १५ वटा बैठकमा विरोध गरेका छौँ । आज पनि निरन्तरता दिएका छौँ । विरोधको अर्को संकेत सबैले कालो वस्त्र पनि लगाएका छौँ । २२ दिनसम्म पनि आन्दोलन गर्दा देशको अभिभावक प्रधानमन्त्रीज्युको यसबारेमा कुनै वक्तव्य आएको छैन । आज संसद्मै जम्काभेट भयो प्रधानमन्त्रीज्युसँग । उहाँले किन स्तो ड्रेस भनेर जिज्ञासा राख्नुभयो । हामीले मानव तस्करविरूद्धको विरोधमा हामी छौँ भनेर जानकारी गरायौँ । उहाँले शुभकामना दिनुभयो ।’
२२ दिनसम्म आन्दोलन चल्दासमेत सरकारले चासो नदिँदा कालो वस्त्र लगाएर विरोध गर्नुपरेको बताउनु भयो ।