काठमाडौं । सभामुख देवराज घिमिरेले निर्वाचन प्रणाली फेर्ने विषयमा पर्याप्त बहस हुनुपर्ने बताउनुभएको छ । ‘निर्वाचन प्रणालीमै समस्या हो कि प्रवृत्तिमा’ भन्ने विषयमा गहन बहस गर्नुपर्ने उहाँको भनाइ छ ।
संविधानविद् चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक 'नेपालमा निर्वाचन प्रणाली' को विमोचन कार्यक्रममा बोल्दै सभामुख घिमिरेले प्रणाली कि प्रवृत्ति कुन दोषी हो भनेर राजनीतिक दलहरूले निचोड निकाल्नुपर्ने बताउनुभएको हो । यो विषयमा आवश्यक छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने उहाँको भनाइ छ । त्यसैगरी संविधान संशोधन गर्ने विषयमा छलफल गरेर मात्रै प्रक्रिया अघि बढाउनुपर्ने सभामुख घिमिरेले बताउनुभयो ।
कार्यक्रममा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले यसै प्रणालीलाई सुधार गरेर जानुपर्ने धारणा राखेका थिए । अहिलेको प्रणालीले यथास्थितिमा राजनीतिक स्थायित्व नदिने उल्लेख गर्दै उनीहरूले यसलाई बहुसदस्यीय निर्वाचन प्रणालीबाट लैजानुपर्ने र जनताकै बीचबाट निर्वाचित हुने व्यवस्था लागू हुनुपर्ने बताए ।
त्यसैगरी विपक्षी दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल लगायतका दलका नेताले भने पूर्ण समानुपतिक निर्वाचन प्रणाली हुनुपर्ने बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रधानमन्त्री सहित प्रदेश मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिनुपर्ने उनीहरूको भनाइ छ ।
सांसद मन्त्री हुने व्यवस्था हटाएर विज्ञ समूहबाट मन्त्री बनाइनुपर्ने व्यवस्था गर्न पनि विपक्षी नेताहरूले सुझाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अहिलेको निर्वाचन प्रणालीबाट मुलुकमा स्थायित्व नहुने भन्दै प्रणाली फेर्नुपर्ने बताएको छ ।