प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुख र कानुनमन्त्रीसहित चार दलका प्रमुख सचेतक छलफलमा

जेष्ठ २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुख र कानुनमन्त्रीसहित चार दलका प्रमुख सचेतक छलफलमा

काठमाडौँ —भिजिट प्रकरणमा प्रतिनिधिसभामा विपक्षीको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले पहल जारी राख्नु भएको छ । सभामुख घिमिरेले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासहित प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतकहरू छलफल गर्नुभको हो ।

सभामुख घिमिरेको कार्यकक्षमा भइरहेको छलफलमा उपसभामुख इन्दिरा राना, कानुनमन्त्री चौरसिया, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् ।

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरुले जेठ १३ देखि प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन् । सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गरेका विपक्षी दलहरूले पछिल्लो समय न्यायिक वा संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।

सत्तारूढ दलहरू एमाले र कांग्रेसले भने गृहमन्त्रीको राजीनामा पनि नआउने र छानबिन समिति पनि गठन नहुने अडानमा छन् । सभामुखले बोलाएको बैठकअघि विपक्षी दलहरूको बैठक बसेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.