काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण पटक-पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको छ ।
विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरण छानबिनको लागि संसदीय समिति गठनको मागसहित सदन अवरोध गरिरहेकोले आजको बैठक पनि कार्यसूचीमा प्रवेश गर्नेमा आशङ्का कायमै छ ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् । विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यस्तै, राष्ट्रियसभाको बैठक आज दिउँसो सवा एक बजे बस्ने छ । सो बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहनेछ ।