काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको छ । शिक्षक आन्दोलन चर्कँदै गएको र प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भूमिकाविहीन बनाउन खोजेको भन्दै असन्तुष्टि जनाएको सन्दर्भमा शिक्षामन्त्री भट्टराईले स्वास्थ्यको कारण देखाउँदै आज राजीनामा दिनुभएको हो ।
भट्टराईले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर शिक्षामन्त्रीबाट राजीनामा दिनुभएको हो । सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएको २० दिन हुँदासमेत औपचारिक वार्तासम्म हुन नसकेको अवस्थामा शिक्षामन्त्री भट्टराईको राजीनामाले सरकार थप दबाबमा परेको देखिन्छ ।
शिक्षामन्त्रीको राजीनामालाई शिक्षकका मागमा प्रधानमन्त्री केपी शर्मा ओली अनुदार रहेको र विभागीय मन्त्रीलाई बेवास्ता गरेको टिप्पणीसँग जोडेर हेरिएको छ । वैशाख ५ गते राति शिक्षक महासंघका पदाधिकारीसँग छलफल गर्दा प्रधानमन्त्री ओलीले शिक्षामन्त्रीलाई सहभागी बनाउनुभएको थिएन । बरु, शिक्षकहरुसँगको वार्तामा एमाले नेता कर्ण थापालाई सहभागी बनाइएको थियो।
शिक्षकका मागबारे मन्त्रालयस्तरमा निरन्तर छलफल र समाधानको पहल भए पनि प्रधानमन्त्री ओलीले वार्ताहरुमा आफूलाई संलग्न नगराएकोमा शिक्षामन्त्री भट्टराई असन्तुष्ट देखिनुभएको थियो । मन्त्री भट्टराईले आन्दोलित शिक्षकका माग र सदनमा शिक्षा ऐन लैजानेबारे सभामुख देवराज घिमिरे तथा सरोकारवाला पक्षसँग पनि छलफल गर्नुभएको थियो ।
उहाँले विद्यालय शिक्षा ऐन जारी गर्ने अवस्था नबने आफू पदमै नरहने बताउँदै आउनुभएको थियो । आफू बिरामी भएर एक महिना उपचारमा रहँदा पनि शिक्षकका माग र समस्या समाधानबारे शिक्षक प्रतिनिधिहरुसँग छलफल गरिरहेको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री ओली र शिक्षामन्त्रीबीच शिक्षा ऐन, शिक्षकहरुका माग र त्रिवि उपकुलपतिको राजीनामा प्रकरणमा पनि कुरा नमिलेको प्रष्टै देखिन्थ्यो । शिक्षामन्त्री भट्टराईले त्रिविलाई राजनीति मुक्त गर्नुपर्ने बताउँदै आउनुभएको थियो । राजनीतिक हस्तक्षेप रोक्नुपर्ने र प्राध्यापकहरुलाई सुरक्षा दिनुपर्ने विषय पनि शिक्षामन्त्रीका रुपमा भट्टराईले गम्भीर रुपमा उठाउनुभएको थियो ।