काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संघीयताको पुनःसंरचना गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संघीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले संघीय संसद्मा सांसदहरूको संख्या बढी भएको समेत टिप्पणी गर्नुभएको छ ।
समानुपातिक र समावेशी सहित संघीय संसद्मा २७५ बाट घटाएर १६५ मा झार्नुपर्ने उहाँको भनाइ छ । उपसभापति गुरुङले प्रदेशहरूमा समेत सांसदहरूको संख्या बढी भएको कारण संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको जिकिर गर्नुभयो । उहाँले संघीयताको नाममा उत्पदानमा केन्द्रित नभई वितरणमुखी प्रक्रियामा रमाइरहने प्रवृत्तिले संघीयमाथि सधैं प्रश्न उठिरहने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो जम्माजम्मी तीन करोड जनसंख्या छ, २७५ प्रतिनिधि सभा छ । निश्चित रूपमा समावेशी र समानुपातिकलाई खारेज गर्नु हुँदैन । तर समावेशी र समानुपातिकलाई राखेरै पनि १६५ मा जान सकिएला नि । संख्या यहाँ पनि घटाऔं । तल प्रदेशमा पनि संख्या किन जम्बो चाहियो ? त्यहाँ पनि संख्या घटाऔं । हाम्रो संघीय संरचनामा पुनःसंरचना आवश्यक छ । अर्कोतर्फ हामीले उत्पादन नै केन्द्रबिन्दु बनाएर जानुपर्छ । जबसम्म हामीले उत्पादनलाई केन्द्रित गर्दैनौं र वितरणमुखीमा हामी रमाइरहन्छौं तबसम्म संघीयतामा प्रश्न उठी नै रहन्छ ।”
उहाँले संघीयताको सफल कार्यान्वयन हुन नसक्दा संघ र प्रदेश एउटै बाटोमा हिँडिरहेको टिप्पणी गर्नुभयो । उहाँले संघीयताको सफल कार्यान्वयनको लागि पूँजी निर्माणलाई प्राथमिकता दिन जरुरी रहेको बताउनुभयो ।