काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ । राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री ओली आज साँझ शितलनिवास पुग्नुभएको थियो । उहाँहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
स्रोतका अनुसार विकसित राजनीतिक घटनाक्रम र चर्चाहरूबारे बारे पनि प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भएको थियो । प्रधानमन्त्री ओलीले पार्टीका केही उच्च नेताहरूसँग पनि समसामयिक परिस्थितिबारे कुरा गर्नुभएको छ ।
यसैबीच प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले राजनीतिमा विकसित घटनाक्रमबारे छलफल गर्न भन्दै जागरण अभियान स्थगित गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मधेश केन्द्रित पार्टीको जागरण अभियान एक साताका लागि स्थगित गरेर काठमाडौं फर्कन लाग्नुभएको हो । आजको रौतहटको कार्यक्रम सम्पन्न गरेर माओवादी नेताहरू काठमाडौं आएलगत्तै भोलि पार्टीको पदाधिकारी बैठक बस्ने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।
देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर अन्य राजनीतिक दलहरूसँग पनि दाहालले छलफल गर्नुहुनेछ। पछिल्लो समय संघीय लोकतान्त्रिक गणतान्त्रिक गणतन्त्रात्मक प्रणालीविरुद्ध गतिविधि भइरहेको भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने तयारी गर्नुभएको छ ।
हिजो मात्र नेपाली कांग्रेसका सभापति देउवासँग दाहालले टेलिफोनमा कुराकानी गर्नुभएको थियो भने प्रधानमन्त्री ओलीसँग भने समय नमिलेका कारण कुराकानी नभएको प्रवक्ता सापकोटाले बताउनुभयो । काठमाडौं फर्किपछि दाहालले काठमाडौं फर्किएपछि ओली र देउवासँग भेटघाट गर्ने तयारी गर्नुभएको छ । तर समय भने निश्चित भइनसकेको प्रवक्ता सापकोटाको भनाइ छ ।
माओवादी केन्द्रले फागुन १२ गते झापादेखि सुरु गरेको मधेश जागरण अभियान चैत १२ गते कञ्चनपुर पुगेर समापन गर्ने कार्यक्रम छ ।