महिलालाई अधिकार दिने कुरामा नेपाल अगाडि छ : कांग्रेस सभापति देउवा

फाल्गुन २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
महिलालाई अधिकार दिने कुरामा नेपाल अगाडि छ : कांग्रेस सभापति देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलालाई राज्यका विभिन्न अङ्गमा अधिकार सहित स्थान दिने क्षेत्रमा नेपाल अगाडि रहेको बताउनुभएको छ । शनिबार ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले राज्यका महत्त्वपूर्ण पदमा महिलालाई अनिवार्य स्थान दिने बाध्यकारी व्यवस्था अन्य देशमा नभएको जिकिर गर्नुभयो । उहाँले सभामुख र उपसभामुख तथा स्थानीय तहका प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिलाको अनिवार्य व्यवस्था गरेर स्थान सहित अधिकार दिएको बताउनुभयो । उहाँले राज्यका महत्त्वपूर्ण स्थानमा जिम्मेवारी लिने कार्यमा महिलाहरूले थप आत्मविश्वासका साथ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “महिलाको उत्थान मात्र होइन अधिकार दिने मात्र होइन महत्त्वपूर्ण जिम्मेवारी दिने काममा पनि नेपाल अगाडि बढिरहेको छ । अहिले हरेक पालिकाहरूमा अनिवार्य रूपमा एक जना महिला राखेका छौं । उपसभामुख, राष्ट्रपति उपराष्ट्रपतिमा पनि महिलालाई पुर्‍याइसकेका छौं । देशभर महिलालाई अधिकार सहित स्थान दिएका छौं । भोलिका दिनहरूमा पनि महिलाहरुले अझ बढी जिम्मेवारी लिने विश्वास लिएको छु । त्यसका लागि महिला विभाग, महिला संघ लगायत सम्पूर्ण दिदीबहिनीहरूले एकताबद्ध भएर काम गर्नुस् । हाम्रो देश महिलालाई अधिकार दिने कुरामा अगाडि छ, कुनै पदको दुई जनामध्ये एक जना महिला अनिवार्य हुनैपर्ने बाध्यता नेपालमा मात्रै छ अरू कुनै देशमा पनि यस्तो व्यवस्था वा बाध्यता छैन ।”

देउवाले घरपरिवार, समाज र राजनीतिको काम गर्न महिलाले धेरै समय खर्च गर्नुपरेको बताउनुभयो । उहाँले राज्यका विभिन्न पदमा महिलाको उपस्थिति अनिवार्य गरिए जस्तै घरायसी कार्यमा महिला र पुरुषले काम गर्ने वातावरण बिस्तारै बन्ने आशय व्यक्त गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement