काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र मिचेर बनाइएको वर्तमान सरकारले ल्याउन लागेका भूमि सम्बन्धी अध्यादेश जनताको हितभन्दा भूमाफियाको हित रहेको जिकिर गर्नुभएको छ ।
पूर्वपश्चिम हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेश जनजागरण अभियान अन्तर्गत धनुषाको सेनिगामा आज आयोजित खबरदारी सभामा बोल्दै अध्यक्ष दाहालले भूमि अध्यादेश भूमाफियाको हितमा रहेको जिकिर गर्नुभएको हो ।
कांग्रेस–नेकपा एमालेको संगतमा गएपछि माओवादी पनि रोगी भएको भन्दै अध्यक्ष दाहाले निको हुन आफ्नो पार्टी जनतासँग घरघरमा भलाकुसारी गर्न आएको उल्लेख गर्नुभयो । अधुरो हुलाकी राजमार्ग तथा पुलहरूलाई यथाशीघ्र निर्माण गराउन आफ्नो पार्टीले आन्दोलन गर्ने समेत उहाँले उद्घोष गर्नुभयो ।
फागुन १२ गते देखि सुरू भएको जनजागरण अभियान आज धनुषा पुगेको थियो । दुई दिन अभियान स्थगन गरेर अध्यक्ष दाहाल सहितको टोली आज साँझ काठमाडौ फर्केको छ ।